९ टोली सहभागि हुने प्रतियोगिता धनगढीमा हुँदै
पोखरा ।
नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री कप आगामी माघ १ गतेदेखि धनगढीमा हुने क्यानले जनाएको छ । प्रतियोगिता माघ १ देखि १२ गतेसम्म सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला स्टेडियममा हुनेछ ।
क्यानले प्रेस विज्ञप्ती जारी गर्दै ९ टोली सहभागि प्रतियोगिता धनगढीमा हुने जानकारी गराएको हो ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय टोली गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछ ।
यस पटक त्रिभुवन आर्मीको महिला टिमले पनि खेल्दैछ । त्रिभुवन आर्मी क्लबले यसै प्रतियोगिताबाट पहिलो पटक महिला क्रिकेट टोली मैदानमा उतार्ने छ।
सहभागि टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, एपीएफ र सुदूरपश्चिम प्रदेश समूह ए मा छ भने कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब समूह बी मा छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पहिलो दिनमै कर्णाली प्रदेश र एपीएफबीच दोस्रो खेल हुनेछ ।
समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् भने तेस्रो हुने टोलीले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछ । सुपर फोरमा एक समूहले अर्को समूहको शीर्ष दुई टोलीसँग खेलेपछि शीर्षस्थानमा रहने दुई टोली फाइनल पुग्नेछ ।

प्रकाशित मिति २०८१ पुस २३ गते मंगलबार १०:००




