पोखरा ।
भिन्तुना युवा क्लब पोखरा–३ तेर्सापट्टीको आयोजनामा प्रथम भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस २६ र २७ गते गैह्रापाटनस्थित स्पोट्र्स क्यासलमा हुनेछ ।
प्रतियोगिताबारे जानकारी दिन हिजो पोखरा तेर्सापट्टीमा आयोजित पत्रकार सम्मेलनमार्फत एमेच्योर फुटसलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ ।
क्लबका अध्यक्ष मनोज शिल्पकारले पत्रकार सम्मेलनमा क्लबको स्थापनाकालदेखि नै सामाजिक कार्यक्रमहरु गर्दै आएको र यो वर्ष खेल क्षेत्रसँग जोडिएर सामाजिक सद्भाव राख्ने उद्देश्यका साथ फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी गराए ।
भिन्तुना युवा क्लब २०५९ सालमा स्थापना भएको हो ।
त्यसैगरी फुटसल प्रतियोगिताका संयोजक अनिरुद्र उदासले फुटसल प्रतियोगिताले मोफसलमा रहेका खेलाडीहरुको अन्तरनिहित प्रतिभालार्ई प्रस्फुटन गर्नुका साथै आपसी भाइचाराको सद्भावलाई अझ प्रगाढ बनाउने बताए ।
प्रतियोगितामा पुरुषतर्फ करिब २५ टिम र मैत्रीपूर्ण प्रतियोगितामा २ महिला टिमको सहभागिता रहने क्लबका पूर्व अध्यक्ष एवं सल्लाहकार राजन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय हुनेलाई ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
साथै, वेष्ट प्लेयर, वेष्ट गोलकिपर, हाइस्कोरर, वेष्ट डिफेन्डर र फेयर प्लेयरलाई ५–५ हजार, मेडल र ट्रफी प्रदान गरिने र म्यानअफ दि म्याचलाई १ हजार सहित ट्रफी पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी हुने टिमका लागि दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८१ पुस २५ गते बिहीबार ०९:१३




