पोखरा
माघ १२ गतेदेखि हुने पाचौं टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा ६–६ टोली सहभागी हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुन लागेको उक्त प्रतियोगितामा २ विदेशीसहित ६–६ टोली सहभागी हुने तय भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
पुरुषतर्फ श्रीलंकन भलिबल टिमसहित हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउने छन् ।
महिलातर्फ युनाईटेड प्यासन भलिबल क्लब, थाईल्याण्डसहित नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाईगर ग्रुप अफ पोखरा नेपाल सहभागी हुनेछन् । प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
गत वर्ष भएको चौथो टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब र महिलातर्फ एपिएल क्लबले जितेको थियो ।
प्रकाशित मिति २०८१ माघ १ गते मंगलबार ०२:१९