गण्डकी सरकारले विगतको ३ बर्षमा संझनयोग्य कुनै काम गरेन- नेपाली
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
अविश्वास प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडेकाेले अविश्वासको प्रस्ताव ल्याउनुपरेको बताए । संघको असंवैधानिक कदमलाई प्रदेश सरकारले समर्थन गरेकाे र त्यस्तै बाटोमा मुख्यमन्त्री हिड्न उद्दत रहेकाले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो ।
संविधानको धारा १ सय ८८ मा प्रधानमन्त्री वा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा विश्वासको मत लिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि मुख्यमन्त्रीले त्यसो नगरेकाले यो असंवैधानिक सरकार भएको नेपालीले दाबी गरे । सत्ता साझेदार दलले समर्थन फिर्ता लिइसक्दासमेत मुख्यमन्त्री कुर्चीमै बसिरहनु अशोभनिय रहेको उनले उल्लेख गरे ।
६ गते प्रदेशसभाको बैठक बोलाइसकेको अवस्थामा वैशाख १ गते राति नै अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री गुरुङले प्रतिगमनकै सिको गरेको उनको आरोप थियो । विगतको ३ बर्षमा सरकारले सम्झनयोग्य कुनैपनि काम गर्न नसकेको नेपालीको आरोप छ ।
‘सरकार अविश्वासको प्रस्ताव फेस गर्नबाट भाग्यो । सरकारलाई समातेर ल्याउन विशेष अधिवेशन बोलाउनुप¥यो,’ नेपालीले भने, ‘मुख्यमन्त्रीले धेरै लोकतन्त्रको कुरा गर्नुहुन्छ । अविश्वासको प्रस्ताव फेस गर्नुभन्दा संसद अधिवेशन नै अधिवेशन गर्नुभयो । यो अलोकतान्त्रिक हो । यसमा घोर आपत्ति छ ।’
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव दर्ता हुने सुइँको पाएलगत्तै १ गते मध्यरातमै मुख्यमन्त्री गुरुङ संसद अधिवेशन नै अन्त्य गरिदिएका थिए ।
३ दलले अविश्वासको प्रस्ताव पनि दर्ता गराउँदै विशेष अधिवेशन बोलाउन सोही दिन प्रदेश प्रमुख अमिक शेरचनसामु निवेदन दिएका थिए । प्रदेश प्रमुख शेरचनले विपक्षी दलको माग बमोजिम आजका लागि विशेष अधिवेशन बोलाएका थिए ।
नेपालीले अविश्वासको प्रस्तावको पक्षमा मत हाल्न जनमोर्चा लगायतका दलहरुसँग आह्वान गरे । संसदमा अविश्वासको प्रस्ताव पेश भए पनि सोमबार नै मतदान भने हुने छैन । सोमबार प्रस्तावक तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीसहित अरु दलका नेता र सांसदले संसदमा बोल्ने छन् ।
सदनमा टेबल भइसकेपछि मतदानमा जाने समय सत्ता पक्षले जतिसक्दो धेरै लम्ब्याउन चाहान्छ भने विपक्षी दल तत्कालै टुंगो लगाउन चाहान्छ । २ दिनसम्म संसदमा छलफल चल्ने र त्यसपछि मतदान हुने विपक्षीको भनाइ छ । ढिलोमा जसैगरी पनि १५ गतेसम्म मतदान हुने सांसद कुमार खड्काको भनाइ छ ।
गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २७ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद दीपक मनाङेले पनि मुख्यमन्त्री गुरुङलाई नै साथ दिने बताएका छन् ।
माओवादीका १२ सांसदमध्ये १ जना सभामुख छन् । कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सांसद छन् । जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा मत हाल्दा मुख्यमन्त्री गुरुङ सरकार गिराउन पुग्ने बहुमत ३१ जना पुग्छ ।
प्रकाशित मिति २०७८ वैशाख १३ गते सोमबार ०३:४०




