पोखरा ।
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
बहुमत सदस्य उपस्थित हुँदा हुँदै पनि मेयरले नगरसभा स्थगित गरेको विरोधमा कांग्रेसले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा सोमबार तालाबन्दी गरेको हो । कुनै छलफल नै नगरिकन मेयर धनराज आचार्यले बैठक स्थगित गरेको भन्दै कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।
नेकपा एमालेबाट निर्वाचित महानगरका जनप्रतिनिधिले करारमा नियुक्त कर्मचारी हटाउने निर्णय कार्यान्वयन नगर्न भन्दै सोमबारको नगर सभा बैठक बहिष्कार गरेका थिए । गएको पुष २८ बसेको १६ औँ नगरसभा आज दिउँसो एक बजेका लागि बोलाइएको थियो । नगरसभा सदस्यहरुलाई भ्रममा पारेर अचानक बैठक स्थगित गरिएको कांग्रेसले आरोप लगाएको छ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले भने महानगरको मनोमानी नमान्ने भन्दै विशेष नगरसभाको निर्णय कार्यान्वयन गर्न माग गरेका छन् । नगरसभा बहिष्कार गरेर निस्केका जनप्रतिनिधिले करारको विकल्प करार हुन नसक्ने भन्दै नारावाजी गरेका थिए ।
सोमबारको बैठक सुरु भए लगत्तै एमालेका जनप्रतिनिधिले बहिष्कार गरेपछि मेयर धनराज आचार्यले नगर सभा बैठक माघ १० गतेसम्मका लागि स्थगित गरेका थिए ।
करारमा कर्मचारी नियुक्तिको विषयलाई लिएर पोखरा महानगरपालिकाभित्र लामो समयदेखि विवाद हुदैँ आएको छ । पुषमा बसेको विशेष नगरसभाबाट महानगरले नयाँ ओयनएम लागु गदै एक हजार एक सय ११ कर्मचारी रहने र महानगरलाई करारका कर्मचारी हटाउदै करार मुक्त बनाउने निर्णय गरेको थियो ।
करारका कर्मचारी हटाउने महानगरको निर्णयविरुद्ध उच्च अदालतमा परेको मुद्धा अदालतले खारेज गरिदिएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिले करारका कर्मचारीको पक्षमा वकालत गदै आएको थियो । काजमा आएका कर्मचारीकाे काज फिर्ता गर्ने सहमती भने हाल महानगरले कार्यान्वयन गरेकाे छैन । महानगरले काजका कर्मचारी फिर्ता नगदैँ करारका कर्मचारी हटाउन थालेपछि उनिहरु रुष्ट बनेका छन् । अहिले पोखरा महानगरमा १ सय ४ जना काजका कर्मचारी छन् । यहीँको दरबन्दी पूर्ती हुने गरी आएका ७९ जना छन् भने बाँकी त्योभन्दा बाहिरका छन् ।
प्रकाशित मिति २०८१ माघ ७ गते सोमबार ०७:२६




