लमजुङ ।
लम्जुङको सुन्दरबजार नगरपालिकाको वडा नं.२ स्थित परेवाडाँडा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ ।
यसअघि वडा नं. ८ स्थित भोटेओडार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो ।
सुन्दरबजार नगरपालिका वडा नं. २ का वडाध्यक्ष नविन कुमार श्रेष्ठको अध्यक्षतामा बुधबार भएको पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रमममा प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले पोषणमैत्री वडा घोषणा गर्नको लागि पहिले स्वास्थ्य संस्था पोषणमैत्री हुनुपर्ने भन्दै यसतर्फ अग्रसर भएकोमा खुसी व्यक्त गरे ।
नगर प्रमुख कोइरालाले अव वडाले आवश्यक सूचकहरु पूरा गरी पोषणमैत्री वडा घोषणा गर्नतर्फ अग्रसर हुन आग्रहसमेत गरे ।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा सरकारले तोकेका विभिन्न सूचकहरु पूरा गर्न वडाबाट सकारात्मक सहयोग साथै स्वास्थ्यकर्मीहरुले अथक परिश्रम गरेको परेवाडाँडा स्वास्थ्य चौकीका प्रमुख रामेश्वर सेढाईले बताए ।
वडा नं. २ का वडाध्यक्ष नविन कुमार श्रेष्ठले पहिले स्वास्थ्य संस्था पोषणमैत्री बनाईसकेपछि अवका दिनमा स्वास्थ्य संस्थालाई पोषणमैत्री बनाउन आफू लागि पर्ने बताए ।
कार्यक्रममा वडाभरका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सहयोगी संस्थाका प्रतिनिधिहरु लगायत ठूलो संख्यामा वडाका बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
सुन्दरबजारमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणाको लागि गैर सरकारी संस्था आरसिडिसिले आवश्यक सहयोग गर्दै आएको छ ।
पोषणमैत्री स्वास्थ्य संस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९’ समेत जारी गरेको छ ।
‘पोषणमैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका २०७८’ ले २०८७ साल सम्ममा देशका सबै स्थानीय तहलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य निर्धारण गरेको छ ।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि सरकारले विभिन्न मापदण्ड निर्धारण गरेको छ । ती मापदण्डहरु पुरा गरेका स्वास्थ्य संस्थालाई मात्र पोषणमैत्री स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिने निर्देशिकामा उल्लेख छ ।
पोषणमैत्री स्वास्थ्य संस्था हुनका लागि दश वटा मापदण्डहरु तोकिएका छन् । ती मापदण्ड पूरा गरेपछि मात्रै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न पाइनेछ ।
प्रकाशित मिति २०८१ माघ १० गते बिहीबार १०:३०




