गोरखामा तीन घर जलेर नष्ट, ११ चौपाया मरे
गोरखा ।
गोरखामा बिहीवार दिउँसो करिव साढेँ चार बजे आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएको छ।
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजुस्थित कुन्साङ लामाको घरमा खाना बनाउन बालेको आगो नजिकै रहेको बलोमा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आगलागीबाट जस्ताले छाएको दुई वटा कच्ची घर र भूकम्प पश्चात निर्माण भएको एउटा घर गरि तीन घर तथा घर भित्र रहेको सरसामान, लत्ताकपडा र अन्नपात पूर्णरूपमा जलेर नस्ट भएको र सोही घर भुइतल्लामा बनेको गोठमा रहेको आठ वटा गाई र तीन वटा गोरु गरि ११ वटा पशुचौपाय पनि मरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक तथा प्रबक्ता ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
आगोलागी भएको खबर पाउन साथ घटनास्थलमा चुम्चेत प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको प्रहरी नायब निरीक्षक शर्माले बताए । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको उनले बताए ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।
प्रकाशित मिति २०८१ माघ ११ गते शुक्रबार १०:३७




