पोखरा। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राेयल च्यालेन्जर्स बैंग्लाेरले दिल्ली क्यापिटल्समाथी १ रनकाे राेमाञ्चक जीत हात पारेकाे छ । मंगलबार सम्पन्न खेलकाे अन्तिम बलमा मुस्किलले १ रनकाे विजय हात पारेकाे बैंग्लाेर जीतसँगै अंकतालिकाकाे शिर्षस्थानमा उक्लिएकाे छ ।
टस हारेर ब्याटिङ्गकाे निम्ताे पाएकाे बैंग्लाेरकाे शुरूवात भने गतिलाे रहेन् । उसले कप्तान विराट काेहलीलाई ब्यक्तिगत १२ रनमा गुमायाे भने अर्का ओपनर देवदत्त पैडिकलपनि १७ रन जाेडेर पवेलियन फर्के । रजत पट्टिदारले ३१ तथा ग्लेन म्याक्सवेलले २५ रन जाेडेर बैंग्लाेरकाे पारी उकास्ने प्रयास गरे । दिल्लीसामु १७१ रनकाे लक्ष्य दिनु अघि बैंग्लाेरका लागि एबी डिभिलियर्सले ७५ रनकाे शानदार नटआउट पारी खेले । जम्मा ४२ बलकाे सामना गरेका डिभिलियर्सले ५ छक्का तथा ३ चाैका प्रहार गरे ।
दिल्लीका लागि ईशान्त शर्मा, कागिसाे रबाडा, आभेस खान, अमित मिश्रा तथा अक्षर पटेलले समान १/ १ विकेट लिए ।
१७२ रनकाे जवाफी ब्याटिङका लागि मैदान उत्रेकाे दिल्ली अन्तिम ओभरकाे अन्तिम बलसम्म जीतकाे पर्खाइमा रहेपनि सफल हुन सकेन् । ओपनर शिखर धवनलाई सस्तैमा गुमाएकाे दिल्लीका लागि पृथ्वी शाले २१ तथा मार्कुस स्टाेइनिसले २२ रनकाे याेगदान दिए । एकतर्फ लगातार विकेट पतन भइरहँदा अर्काेतर्फ दिल्लीकाे आस जाेगाइरहेका कप्तान ऋषभ पन्तलाई सिम्रन हेटमायरले दिएकाे साथसमेत बेकार बनेपछि दिल्ली झिनाे रनअन्तरले खेल गुमाउन विवश बन्याे । लगभग हारतर्फ धकेलिएकाे खेलमा हेटमायरले शानदार ब्याटिङ्ग गर्दै दिल्लीलाई अन्तिमसम्म धकेलेका थिए । हेटमायरले २५ बलमा ४ छक्का र २ चाैकाकाे मद्दतले ५३ रन बनाए ।
जितका लागि अन्तिम ओभरमा दिल्लीलाई १४ रन आवश्यक हुँदा माेहम्मद सिराजकाे पहिलाे बलमा पन्तले एक रनमात्र बटुल्न सके । दाेस्राे बलमा हेटमायरले १ रनमा चित्त बुझाउँदा तेस्राे बलम कुनै रन बन्न सकेन् । चाैथाे बलमा २ रन जाेडेका पन्तले पाँचाै बलमा चाैका प्रहार गरे । त्यसपछि दिल्लीलाई जीतका लागि अन्तिम बलमा छक्का अनिवार्य बन्याे । तर, सिराजकाे अन्तिम बलमा पन्तले चाैका प्रहार गरे । पन्तले ४८ बल खेल्दै ६ चाैकाकाे मद्दतमा ५८ रन जाेडेपनि दिल्लीकाे हार भने टार्न सकेनन्।
बैग्लाेरका लागि हर्सल पटेलले २ तथा केलि जैमिन्सन र माेहम्मद सिराजले १/ १ विकेट हात पारे ।
कुल ६ खेल खेलेकाे बैग्लाेर जीतपछि अंक तालिकाकाे शिर्ष स्थानमा उक्लिएकाे छ । उसले हालसम्म १ खेलमात्र गुमाएकाे छ । एक खेल कम खेलेकाे चेन्नई दाेस्राे स्थानमा रहेकाे छ भने खेलिएका ६ मध्ये २ म पराजय व्यहाेरेकाे दिल्ली अंकतालिकाकाे तेस्राे स्थानमा छ ।
प्रकाशित मिति २०७८ वैशाख १५ गते बुधबार १२:३४




