गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान हुने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ । अविश्वास प्रस्तावमाथि आजै छिनोफानो गर्ने उद्देश्यले सांसदहरुको बोल्ने क्रम छोट्याइएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।
केहीबेर अघि बसेको बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सुरु भएको छ । केही सांसदले छलफलमा भाग लिइसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्न अनुमति दिने र सांसदहरुले मतदान गर्ने जनाइएको छ ।
गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २७ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद छन् ।
माओवादीका १२ सांसदमध्ये १ जना सभामुख छन् । कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सांसद छन् । जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा मत हाल्दा मुख्यमन्त्री गुरुङ सरकार गिराउन पुग्ने बहुमत ३१ जना पुग्छ ।
यसअघिकाे अंकगणितझै मतदान भएकाे खण्डमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङकाे सरकार ढल्ने निश्चित छ । विपक्षी दल वा राजमाेका सांसदहरूले फ्लाेर क्रस गरेकाे अवस्थामा भने मुख्यमन्त्रीकाे पद यथावत कायम रहने छ ।
प्रकाशित मिति २०७८ वैशाख १५ गते बुधबार ०३:०५




