पोखरा ।
नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सहभागी त्रिकोणात्मक टी–२० शृंखला आजबाट शुरु हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग खेल्दै नेपालले शृंखलाको शुरुवात गर्दैछ । खेल दिउँसो सवा १२ बजे शुरु हुनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफ्नो टोली सन्तुलित रहेकाले शृंखला जित्ने बताएकी छिन् ।

प्रतियोगिताअगाडि बुधबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान इन्दुले भर्खर प्रधानमन्त्री कप क्रिकेट खेलेका खेलाडी र यु–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका नेपालकी कप्तान पूजा महतोसँगै दुई खेलाडी रहेकाले आफ्नो टोली सन्तुलित रहेको बताइन् ।
नेपाली टिम पूर्ण सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने उनको विश्वास छ । नेपालकी कप्तान इन्दुले ब्याटिङमा सुधार गर्नका लागि पनि यो श्रृंखला धेरै महत्वपूर्ण रहेको उल्लेख गरिन् ।
महिला क्रिकेटमा पनि मैदानसम्म आएर हौसला बढाउन पनि कप्तान इन्दुले आह्वान गरिन् ।

त्यस्तै थाईल्यान्ड महिला क्रिकेट टोलीकी कप्तान नारुइमोल चाइवाईले श्रृंखला जित्ने गरी प्रदर्शन गर्ने बताइन् ।
नेदरल्याण्ड्की कप्तान बेबेट्टे डी लिडेले नेपालमा क्रिकेट खेल्न आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिइन् ।
नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट छन् ।
माघ २५ गतेसम्म हुने शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।






