पाेखरा । स्वास्थ्य अवस्थामा अचानक समस्या आएकाे भन्दै आईसियुमा उपचारत गण्डकीका सांसद खीम विक्रम शाहीकाे काेराेना परिक्षणकाे रिपाेर्ट शंकास्पद भेटिएपछि शाहीकाे स्वास्थ्यमा साँच्चै समस्या आएकाे हाे कि उपचार एक बहाना भन्नेमै शंका उब्जिएकाे छ ।
उनलाई बुधबार दिउँसो करिव १२ बजेतिर अचानक चक्कर लाग्ने, टाउको दुख्ने र शरीर दुख्ने अवस्था सिर्जना भएपछि पोखराको चरक मेमोरियल हस्पिटलको आईसियु वार्डमा उपचार भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सांसद शाहीको दुई थरी कोरोना रिपोर्ट छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बैशाख १४ गते लिएको सांसद शाहीको स्वाबको रिपोर्टमा नेगेटिभ छ भने बुधबार अचानक विरामीका कारण हस्पिटल भर्ना भएपछि लाइफ केयर डाइनग्लोस्टीकमा लिएको रिपोर्टमा भने पोजेटिभ देखिएको छ । अहिले सांसदहरुले नै प्रयोगशालामाथि नै छानविन हुनुपर्ने वताएका छन् ।
यता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद शाहीको स्वास्थ्य अवस्थाबारे पार्टिले आवश्यक जानकारी लिने र सार्वजनिक गर्ने बताएका छन्। शाहीको विषयमा अध्यक्ष केसीसँग प्रतिक्रिया लिंदा, केसीले हाम्रो सांसद आईसीयूमा रहेको खबर सुनेँको छु । यसबारे पार्टिले सत्य तथ्य बुझने र प्रतिक्रिया दिने बताए ।
उता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा बुधबार मतदान हुने तय भएपनि स्वतन्त्र १ सहित पृथ्वीसुब्बाको विपक्षमा मतदान गर्ने बताएको राजमोका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला मच्चिएको थियो । यस अघि अपराह्न साढे ४ बजे मतदान गर्ने कार्यसूची थियो । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका हुन् ।
दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको एमालेको आरोप छ ।
प्रकाशित मिति २०७८ वैशाख १५ गते बुधबार ०९:१७




