२०८३ साउन २१ गते बिहीबार

२४औँ आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा

२४औँ आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २० गते आइतबार ०४:३५

युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब प्रतियोगितामा सहभागी हुनेछन्।

पाेखरा ।

मोफसलको बहुप्रतिष्ठित २४औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ।

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन, जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङग्रेन प्रिमियम बासमती राइसको सहप्रायोजनमा २२ माघदेखि ३ फागुनसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

प्रतियोगितामा ए डिभिजन, विभागीय, मोफसल, आयोजकसँगै नौ स्वदेशी र तीन विदेशी गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए। बरालका अनुसार प्रतियोगितामा थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन आरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँगै विभागीय टोलीहरू नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लब गरी स्वदेशका नौ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी, पाहुना टोली युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब प्रतियोगितामा सहभागी हुनेछन्।

सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा ब्रिगेड ब्वाइज, आयोजक, पुलिस, एनआरटी, चर्च ब्वाइज र आर्मी रहेका छन् भने समूह ‘बी’मा थ्री स्टार, एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट, संकटा र उज्वेकिस्तानको टोली रहेका छन्।

सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक र पुलिस भिड्नेछन्। सहभागीमध्ये दुई विदेशी टोली ब्रिगेड ब्वाइज र उज्वेकिस्तानको टोलीसँगै थ्री स्टार र आर्मीले वाई पाएर सीधै क्वार्टरफाइनल खेल्नेछन्। दोस्रो खेलमा एपिएफ र मच्छिन्द्र, तेस्रो खेलमा एनआरटी र चर्च ब्वाइज, चौथो खेलमा संकटा र भारतको टोली प्रिक्वार्टर फाइनलको खेलमा भिड्नेछन्।

क्वार्टरफाइनलअन्तर्गत पहिलो खेलमा युकेको टोलीले सहारा र पुलिसबिचको खेलको विजेतासँग २६ माघ, एपिएफ र मच्छिन्द्रबिचको खेलको विजेतासँग थ्री स्टारले २७ माघ, एनआरटी र चर्च ब्वाइजबिचको विजेतासँग आर्मीले २८ माघ, संकटा र भारतको टोलीबिचको विजेतासँग उज्वेकिस्तानको टोलीले चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा २९ माघमा भिड्नेछन् ।

पोखरा महानगरपालिका संरक्षक रहेको प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। यसैगरी, सर्वोकृष्ट खेलाडीले स्कुटर पाउँदा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले २५ हजार नगदसँगै टफ्री पाउँदा ‘फेयर प्ले’को रूपमा एक टोलीलाई पुरस्कृत गरिनेछ।

प्रतियोगिता सञ्चालन गर्न एक करोड ४२ लाख २० हजार खर्च लाग्ने तथा  एक करोड ५१ लाख आम्दानी हुने आयोजकको अनुमान छ। बचत रकम क्लबको एकेडेमी सञ्चालनमा खर्च हुने अध्यक्ष बरालले जानकारी दिए।

पुलिस र मनाङले जिते ६–६ पटक उपाधि
प्रतियोगिताको २४औँ संस्करणसम्म आइपुग्दा विभागीय नेपाल प्रहरीको नेपाल पुलिस क्लब र ए डिभिजनको क्लब मनाङ मस्याङ्दी क्लब सबैभन्दा धेरै उपाधि जित्ने सूचीमा छन्। २३औँ संस्करण सकिँदा दुवै टोलीले समान ६–६ पटक उपाधि हात पारेका छन्।

यसैगरी, थ्रिस्टार क्लबले पाँच, संकटा क्लबले दुईपटक उपाधि उचाल्दा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब, आयोजक सहारा क्लब र पाहुना टोली अफ्रिकन युनाइटेड क्लबले समान एक–एकपटक उपाधिमा आफ्नो नाम लेखाएका छन्।

एकेडेमीमा चौथो ब्याचका ३० प्रशिक्षार्थी
विगत २३ वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले ०५८ सालदेखि फुटबल एकेडेमीसमेत सञ्चालनका गरिरहेको छ । कठिन परिस्थिति र विपन्न वर्गका बालकहरू आश्रित पोखरा– १७ दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल चौथो ब्याचका ३० जना बालक छन्।

उनीहरूको आवास, पालनपोषणसँगै शिक्षादीक्षा र फुटबल प्रशिक्षणको काम क्लबले नै गर्दै आएको छ । प्रत्येक वर्ष प्रतियोगिताको सञ्चालनपछि प्राप्त हुने आम्दानी क्लबले एकेडेमी सञ्चालनका लागि खर्च गर्दै आएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।

प्रकाशित मिति २०८१ माघ २० गते आइतबार ०४:३५
हजुरको प्रतिक्रिया