२०८३ साउन २१ गते बिहीबार

भरतपोखरीमा पानी माग्दै सामूहिक पूजा

भरतपोखरीमा पानी माग्दै सामूहिक पूजा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १९ गते आइतबार ०९:२०

लामो समयको खडेरीका कारण खेतीबाली सुक्न थालेपछि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका विभिन्न स्थानमा शनिबार समूहिक पूजा गरिएको छ । स्थानीय सिलिङ्गे चेतना महिला समूहको प्रमुख सङ्कल्पमा यहाँका साविक भरतपोखरी गा.वि.स.का वडा नं...

लामो समयको खडेरीका कारण खेतीबाली सुक्न थालेपछि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका विभिन्न स्थानमा शनिबार समूहिक पूजा गरिएको छ ।

स्थानीय सिलिङ्गे चेतना महिला समूहको प्रमुख सङ्कल्पमा यहाँका साविक भरतपोखरी गा.वि.स.का वडा नं ५ र ६ मा पर्ने चण्डी देउराली, कोटभैरव, नाउरुङ, व्यार्थोक र मैदानमा छुट्टाछुट्टै पूजा गरी पानी मागिएको समूहकी सचिव सीता केसी महतले जानकारी दिइन् ।

परापूर्व कालदेखि लामो समय खडेरी परेमा यहाँका यी शक्तिपीठहरूमा सामूहिक पूजाआजा, भजनकीर्तन सहित पानी माग्ने प्रचलन रहेको उनले बताईन् । पूजाआजा सहित पानी मागेका अवस्थामा न्युनत एक हप्ता भित्रमा पानी पर्ने गरेको जनविश्वास कायमै रहेको छ ।
सामूहिक पूजाकै अवसर पारी स्थानीय विष्णु पौडेलले आफ्नी छोरी स्व. आरती पौडेलको स्मृतिमा चण्डी देउराली मन्दिरमा घण्टी प्रदान गर्नुभएको समूहकी अध्यक्ष कर्णकुमारी महतले जानकारी दिए ।

लामो समयदेखि पानी नपरेका कारण खेतबारी लगाइएको मकै लगायत अन्य तरकारी बाली सुक्न थालेपछि कृषकहरू समस्यामा परेका छन् । खडेरीकै कारण वरपरका प्राकृतिक जलाशयमा समेत पानी सुक्दै जाँदा दैनिकी सञ्चालनमा समेत समस्या परेको स्थानीयको दुःखेसो छ । यहाँका कोटभैरव, चण्डी देउराली लगायतका शक्तिपीठको अस्तित्व नेपालका वाइसे चौवीसे राजाका पालादेखि नै भएको मानिने भएकोले सामाूहिक पूजाआजा सहित पानी माग्ने प्रचलन पनि त्यही समयदेखि नै भएको हुनसक्ने बुढापाका बताउँछन् ।

प्रकाशित मिति २०७८ वैशाख १९ गते आइतबार ०९:२०
हजुरको प्रतिक्रिया