२०८३ साउन २१ गते बिहीबार

गोरखा जिल्लामा एचपिभी खोप अभियानको सुरु

गोरखा जिल्लामा एचपिभी खोप अभियानको सुरु

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ माघ २२ गते मंगलबार १२:०९

गोरखा । गोरखामा आजदेखि एचपिभी (ह्युमन पपिलोमा भाइरस) खोप लगाउने अभियान सुरु भएको छ । गोरखा नगरपालिका–९, लक्ष्मी बजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर...

गोरखाको ११ स्थानीय तह भित्रका १० हजार २६८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने

गोरखा ।

गोरखामा आजदेखि एचपिभी (ह्युमन पपिलोमा भाइरस) खोप लगाउने अभियान सुरु भएको छ ।

गोरखा नगरपालिका–९, लक्ष्मी बजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरी अभियानको सुरुवात गरेका हुन् । उनले यो अभियानले गर्भाशयको क्यान्सरबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

खोप अभियानका तहत १० देखि १४ वर्षका युवतीहरूलाई निःशुल्क खोप लगाइने जनाइएको छ । आज देखि सुरूवात भएको खोप अभियानमा जिल्लाभरका कक्षा ६ देखि १० सम्म पढ्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाका खोप फोकल पर्सन नानीबाबु दानीले जानकारी दिए ।

त्यस्तै, जिल्लाका ११ स्थानीय तह भित्रका १० हजार २६८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने उनले बताए ।

विद्यालयमा रहेका बालिकाहरुलाई विद्यालय हाता भित्र र बाहिर रहेका बालिकाहरुलाई अभियानको अन्तिम दिन स्वास्थ्य केन्द्रमा खोप लगाउने गरी तयारी दानीले बताए । उनको अनुसार यसको लागि १९४ खोप केन्द्रमा २०५ स्वास्थ्यकर्मी र ४१० स्वयंसेवक परिचालन गरिनेछ ।

जिल्लामा सबैभन्दा धेरै गोरखा नगरपालिकाको २ हजार ५७३ किशोरीलाई खोप लगाइने भएको छ । अजिरकोट गाउँपालिकाका ५३६, आरुघाट गाउँपालिकाको १ हजार २ जना, गण्डकी गाउँपालिका ७६५, चुमनुब्री गाउँपालिकाका १५५, धार्चे गाउँपालिकाका ६७७ जनालाई लगाइने उनले बताए ।

त्यसैगरी पालुङटार नगरपालिकाका १ हजार ५५७, भिमसेन थापा गाउँपालिकाका ७१२, बारपाक सुलिकोटका ९७९, शहिद लखन गाउँपालिकाका ५७७ र सिरानचोक गाउँपालिकाका ७१९ जनालाई खोप लगाइने कार्यालयले जनाएको छ ।

सबै खोप केन्द्रबाट फागुन ६ गतेसम्म खोप लगाइने छ । अभियानलाई सफल बनाउन सबै अभिभावकहरूलाई आफ्ना छोरीहरूलाई खोप लगाउन प्रोत्साहित गर्न स्वास्थ्य विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति २०८१ माघ २२ गते मंगलबार १२:०९
हजुरको प्रतिक्रिया