पोखरा ।
पोखरा रंगशालामा जारी आहा रारा पोखरा गोल्डकपमा आज एनआरटी र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजेबाट सुरु हुँदैछ । दुवै ए डिभिजन टोली क्वार्टरफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिँदैछन् ।
आज जित निकाल्ने टोली क्वार्टरफाइनलमा स्थान बनाउने छ ।
आहा रारा गोल्डकप अन्तर्गत हिजो भएको खेलमा पूर्वविजेता एपीएफलाई पराजित गर्दै मछिन्द्र क्लबले क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा विभागीय टोलीएपीएफ क्लबलाई २–० गोल हराउँदै मछिन्द्र क्वाटरफाइनलमा पुगेको हो । अब मछिन्द्रले सेमिफाइनल प्रवेशका लागि थ्री स्टार क्लबसँग खेल्नेछ ।
गोल्डकपमा एउटा समूहमा आयोजक सहारा क्लबसहित पुलिस, न्यूरोड टीम एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी र युकेको ब्रिगेड ब्वाईज क्लब समूह ए मा छन् ।
यो समूहका युके र आर्मीले सिधै पहिलो र तेस्रो क्वार्टरफाइनल खेल्नेछन् ।
यस्तै समूह बीमा एपीएफ, मछिन्द्र, भारतको थन्डरबोल्ट नर्थ–युनाईटेड, संकटा, थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन् ।
थ्रीस्टार र ब्ल्याक बुल्सले सिधै दोस्रो र चौथो क्वार्टरफाइनल खेल्नेछन् । माघ ३० मा पहिलो सेमिफाइनल र फागुन १ मा दोस्रो सेमिफाइनल खेल हुनेछ ।
२४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार ११:१३




