रि-युनियन हुँदै पाेखरेली व्याण्डहरू
पाेखरा ।
पाेखरामा शनिबार तय भएकाे सांगीतिक कार्यक्रम ‘ब्याक टु नाइन्टिज’ काे सम्पूर्ण तयारी पुरा भएकाे छ ।
बिहीबार पत्रकार भेटघाट कार्यक्रमकाे आयोजना गर्दै पोखरा सांगीतिक कलाकार संघ र गण्डकी प्रज्ञा प्रतिष्ठान कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएकाे जनाएकाे हाे ।
पोखराको सांगीतिक इतिहासलाई पुनर्जीवित गर्ने उद्देश्यले आयोजित कार्यक्रम माघ २६ गते शनिबार, साँझ ५ : ०० बजे पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने जनाइएको छ।
कार्यक्रममा पाेखरेली सांगीतिक माहोललाई नयाँ उचाइमा पुर्याउन सन् १९९० को दशकका चर्चित पोखरेली ७ व्याण्डहरू- मध्याह, कन्दरा, डि-मर्चा, लेकाली, देउराली, ब्रोसिस र भेगाबोण्डले आफ्नो प्रस्तुति दिने कार्यक्रमका संयाेजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले बताए ।
एक समय पोखरा व्याण्डहरूको राजधानीका रूपमा परिचित थियो। ९० को दशकमा पोखराका व्याण्डहरूले देशविदेशमा चर्चित गीतहरू सिर्जना गर्दै नेपाली संगीतलाई नयाँ धार दिएका थिए। तर समयसँगै त्यो पहिचान सुस्ताउँदै गयो। यही विरासतलाई पुनर्जीवित गर्दै पोखरालाई पुनः सांगीतिक राजधानी बनाउने अभिप्रायले आयोजित कार्यक्रमले आफुँमा नयाँ उर्जा भरेकाे मध्यान्ह व्याण्डका भाेकलिष्ट कर्णदासले उल्लेख गरे ।
कार्यक्रममा लोक-पप, रक, फोक लगायत विभिन्न शैलीका गीतहरू प्रस्तुत हुनेछन्। कन्दराको ‘तगारोमा रुमाल’, ‘तिमी पारी’, डि-मर्चाको ‘याम्म क्याम्म’, ‘कैलाशैमा’, लेकालीको ‘यो मुटुमा’, ‘सपनीमा’, मध्याहको ‘जिन्दगीको के भरोसा’, ब्रोसिसको ‘चाइना कम्पनी’, देउरालीको ‘सररर हावा’ र भेगाबोण्डको ‘यो जिन्दगानी’ जस्ता सदाबहार गीतहरूले दर्शकलाई पुराना दिनको झझल्को दिनेछन्।
संगीतमार्फत पोखरालाई ‘पर्यटनको राजधानी’ बनाउन भूमिका खेल्ने लक्ष्य लिइएको छ। साथै, युवालाई कुलत र दुर्व्यसनबाट जोगाउने, सांगीतिक उद्योगमा भविष्य खोज्न प्रेरित गर्ने, तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजनमा रहेको उक्त कार्यक्रमका लागि २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। कार्यक्रममा २० हजारभन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ। कार्यक्रममा संकलित रकमबाट कलाकार अक्षयकोष स्थापनाको लक्ष्य राखिएको छ। कार्यक्रमको मुख्य प्रवर्द्धक पोखरा महानगरपालिका रहेको छ भने नेपाल सरकार, गण्डकी प्रदेश सरकारको सहयोग प्राप्त छ। कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, छिनेडाँडा मुख्य प्रायोजक रहेका छन्।
कार्यक्रमस्थल प्रवेशका लागि रू. २०० काे टिकट व्यवस्थापन गरिएकाे आयाेजकले जनाएकाे छ ।
प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार ०३:४५




