कोरोना संक्रमित एक स्वास्थ्यकर्मीलाई उपचारका लागि काठमाडौदेखि धौलागिरी अस्पताल बागलुङमा लगिएको छ । काठमाडौंका अस्पतालमा शैया नपाएपछि ढोरपाटन नगरपालिका-३ घर भई काठमाडौं वस्दै आएका ३१ बर्षिया महिलालाई एम्बुलेन्स मार्फत धौलागिरी अस्पताल लगिएको हो ।
एम्बुलेन्सलाई ५० हजार रुपैयाँ तिररे धौलागिरी अस्पतालमा ल्याएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । ‘काठमाडौंका अस्पतालहरुमा बेड खोजी गर्दा सहज तरिकाले नपाएपछि जिल्लामा खबर आएकोले धौलागिरी अस्पतालमा बेडको व्यवस्था गरी ल्याइएको हो ।
संक्रमित भएर अस्पताल जादा बेड नपाएपछि सहजीकरण गरेर बागलुङ लिएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र विक पोखरेलले बताए । कोरोना संक्रमण भएको चार दिनपछि उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि धौलागिरी अस्पतालमा ल्याएको उनको भनाई छ ।
महिलालाई अस्पतालको आइसोलेसनमा भर्ना गरी सोमवार रातीदेखि उपचार थालिएको छ । संक्रमित महिलालाई ज्वरो, खोकी लाग्नुका साथै अक्सिजनको पनि कमी रहेको डा. पोखरेलले वताए ।
प्रकाशित मिति २०७८ वैशाख २१ गते मंगलबार ११:४१




