बागलुङ ।
नेपाल पत्रकार महासंघ बागलुङले पत्रकार लेखनवृत्ति कोषको घोषणा गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरि पत्रकार लेखनवृत्ति कोषको घोषणा गरिएको हो ।
गत मंसिर २८ गते सम्पन्न आठौ जिल्ला अधिवेशनबाट निर्वाचित पत्रकार महासंघ बागलुङको नवनिर्वाचित समितिको पहिलो बैठकले गरेको निर्णय अनुसार कोष घोषणा भएको हो ।
कोष घोषणा गरेको पहिलो दिननै रु चार लाख संकलन भएको पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ जानकारी दिए ।
उनका अनुसार पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु मार्फत जम्मा भएको रकम १ लाख ५५ हजारसहित देश तथा विदेशमा रहेका दाताहरुबाट सहयोग प्राप्त भएको छ ।
खोजी पत्रकारितामा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरि कोषको घोषणा गरिएको महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिए ।
कोषमा १० लाख पु¥याउने र हरेक वर्ष दुई पत्रकारलाई जनही रु एक लाख राशीको पुस्कार दिने उनको भनाइ छ ।
पत्रकारलाई पेशामा टिकाई राख्नका लागि लेखनवृत्ति कोषबाट प्रदान गरिने पुरस्कारले टेवा पु¥याउने उनले बताए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले पत्रकार समाजको ऐना भएको हुँदा दूर दराजका समस्या र सवालहरु उठाउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेश सभा नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, गण्डकी प्रदेशसभा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
कोष घोषणासँगै पुरस्कार समपर्ण कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङमा स्थापित विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पब्लिक फोरकेकर्मी डम्मर बुढामगर र टिकाधन क्रियाशील पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार रामकृष्ण बोहरा पुरस्कृत भएका छन् ।
प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार १०:२१




