काठमाडौं ।
प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ ।
दिउँसो १ बजे शुरु हुने बैठकको आरम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची तय भएको छ ।
यस्तै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ पेश गरिनेछ ।
यस्तै गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक– २०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्नेछन् ।
यस्तै विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानून, न्याय तथा मानव अधिकार समितिुको प्रतिवेदनको विभिन्न बुँदा र विधेयकका दफा निर्णयार्थ प्रस्तुत गरिनेछ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन विधेयक–२०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यसैगरि आजै दिउँसो सवा १ बजे शुरु हुने राष्ट्रिय सभा बैठकको आरम्भमा अर्थमन्त्री पौडेलले ‘आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन् ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक– २०८१ सभा समक्ष पेश गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची छ ।





