कोरोेना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ पछिल्लो २४ घण्टामा पोखरामा २७५ सहित गण्डकी प्रदेशमा ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक अरु सबै जिल्लामा संक्रमितको संख्या बढिरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा २७५ जना सहित कास्कीमा २९२जनामा, नवलपरासी पूर्वमा ५२ जनामा, स्याङ्जामा २७ जनामा, बाग्लुङमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी तनहुँमा ४४ जनामा, लमजुङमा २ जनामा, गोरखामा ६० जनामा, पर्वतमा ८ जनामा, म्याग्दीमा २९ जनामा र मनाङमा ७ जनामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २ जना पुरुषको उपचारका क्रममा निधन समेत भएको छ । कोरोना संक्रमणबाट प्रदेशमा हालसम्म निधन हुनेको संख्या २३७ पुगेको निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २९० जनाको परिक्षण गरिएकोमा ७१६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी आज ८७ जना निको हुनुभएको छ भने २ हजार ८०४ जना होम आइसोलेशनमा रहनुभएको छ ।
हालसम्म प्रदेशमा १ लाख ४८ हजार ६१० जनाको परिक्षण गरिएको छ । प्रदेशमा संक्रमितको संख्या २० हजार ४२७ पुगेको छ । परिक्षण गरिएका मध्ये १ लाख २८ हजार १८३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । त्यसैगरी १७ हजार १५९ जना संक्रमणबाट निको हुनुभएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१ रहेको निर्देशनालयले जानकारी दिएको छ ।
प्रकाशित मिति २०७८ वैशाख २२ गते बुधबार ०६:००




