२००७ सालको आन्दोलनलाई स्वीकार्न तयार नहुने स्थितिको अन्त्य जरुरी रहेको जिकिर
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रूपमा मनाउने गरी तयारी गर्न निर्देशन दिएका छन्।
आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मुल समारोह समिति गठन तथा कार्यक्रम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले सरकारी कार्यक्रमहरु आदेश, निर्देशमा हुने तर जनताको कार्यक्रम नहुने गरेको भन्दै यस्तो परिपाटीको अन्त्य गर्न आवश्यक रहेको बताए।
संविधान दिवस, प्रजातन्त्र, दिवस, लोकतन्त्र दिवस जस्ता जनताले ल्याएका उपलब्धिका दिनहरु जनताले जनस्तरबाट मनाउन पाउनुपर्ने बताए। यस्ता उपलब्धिहरुमा जनता सहभागी बनेर र जनस्तरबाट खुशी साटासाट गरेर मनाउनपर्ने बताए।
नेपालमा सबैभन्दा ठूलो परिवर्तन गर्ने आन्दोलन २००७ सालको आन्दोलन नै भएको दाबी गरे। हिंसालाई जनयुद्ध भन्न रुचाउने तर २००७ सालको आन्दोलनलाई स्वीकार्न तयार नहुने स्थितिको अन्त्य जरुरी रहेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘सरकारी कार्यक्रम हुने, आदेश निर्देशमा चल्ने, जनताको कार्यक्रम नहुने यस्तो हुँदै गयो। यसलाई जनताको कार्यक्रम कसरी बनाउन सकिन्छरु भन्ने कुरामा संविधान दिवस होस्, प्रजातन्त्र दिवस होस्, गणतन्त्र दिवस होस्। यस्ता कुराहरुलाई जनताको विषय बनाउनु पर्दछ र जनताले यस्ता कुरामा सहभागी भएर सेलिब्रेट गर्न कसरी पाउने, कसरी जनतालाई जोड्ने त्यो कुरामा हामी लाग्नुपर्छ।ु
यसैगरी, सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ। २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ।
यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरुमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मुल कार्यक्रम आयोजना हुनेछ।
प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०३:२२




