पोखरा
थ्रीस्टार क्लब पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा टाइब्रेकरमा मछिन्द्र फुटबल क्लबलाई ४–२ गोलले हराउँदै थ्रीस्टार सेमिफाइलनमा प्रवेश गरेको हो । निर्धारित र अतिरिक्त समयमा दुवैतर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा प्रवेश गरेको थियो ।
टाइब्रेकरमा मछिन्द्रका दुई खेलाडीको प्रहार गोल नहुन नसकेपछि खेल थ्रीस्टारको पक्षमा ढल्कियो । मछिन्द्रका विशाल घलान र आदित्य शाक्यले गोल गर्न नसक्दा मछिन्द्रले खेल गुमाउन पुगेको हो । थ्रीस्टारका दीपेश घले, लक्ष्मण रुचाल, विराज महर्जन र फोड फोफोनाले गोल गरे ।
प्रिक्वाटरफाइनल खेलमा विभागीय टोली एपीएफलाई पराजित गरेको मछिन्द्र क्वाटरफाइलनमा थ्रीस्टारसँग पराजित हुन पुग्यो । थ्रीस्टारले अब फाइनल प्रवेशका लागि उज्वेकस्थानको ब्लाक बुल्स फुटबल क्लब र सिक्कीमको थन्डरबोल्ट युनाइटेढबिचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत सोमबार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०८:०९




