म्याग्दी ।
म्याग्दीको बेनीमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा ६ वटा स्थानीय तहबाट छनोट भएका खेलाडी बिचको प्रतिस्पर्धा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको दौडमा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण पदक बेनी नगरपालिकाका ईश्वर न्यौपानेले रजत र बेनीकै सुजन राना मगरले कास्य पदक तथा छात्रातर्फ मालिका गापाकी कमला बुढाले स्वर्ण, रघुगंगा गाउँपालिकाकी सोनिया भण्डारीले रजत, रघुगंगाकै सुप्रिया नगरकोटीले कास्य पदक जित्न सफल भएका छन् ।
मंगलबार सम्पन्न हुने प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित ६ सय जना खेलाडी सहभागी छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि खेल हुने छ । आगामी फागुनको ५ र ६ गते गोरखामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्शल आर्टबाट ३६ र एथलेटिक्सबाट २४ गरी एक सय जना खेलाडीले सहभागिता जनाउने छन् ।
प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०२:२९




