गोरखा ।
डू गुड बी गुड’ भन्ने मूल नारासहित गोरखामा पहिलो पटक राष्ट्रिय निरुपित उपाध्यक्ष अभिसेक दुलाल मातहतमा रहेका जेसीज क्षेत्र (ख) का १५ शाखा मध्ये १४ शाखा स्तरीय जेसीज फुटसल प्रतियोगिता–२०२५ हुने भएको छ ।
गोरखा जेसीजको आयोजनामा पहिलो पटक आयोजना गरिएको प्रतियोगिता आगामी चैतको १ र २ गते सञ्चालन गर्ने तयारी गरिएको छ ।
बुधबार गोरखा सदरमुकाम स्थित जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गरेर प्रथम जेसीज फुटसल कप–२०२५ प्रतियोगिताको तयारीकाबारेमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा गोरखा जेसीजका शाखा अध्यक्ष सुमन गुरुङले प्रतियोगिता सफल पार्नका लागि तयारीलाई अगाडि बढाइएको बताए । त्यसका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको उनले जानकारी दिए ।
२०२४ साल अघि सम्मका जेसिजका बोर्ड सदस्यहरु मात्र सहभागी हुन पाउने प्रतियोगितामा सहभागिता जनाउन विभिन्न जिल्लाका १४ जेसीज शाखाहरुमा पत्राचार गरिसकिएको गोरखा जेसीजले जनाएको छ ।
प्रतियोगिताका संयोजक दिपक बस्नेतका अनुसार विजेता र उपविजेतालाई क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित जेसीज कप, ट्रफी, मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिने छ ।
यसैगरी विभिन्न विधाअन्तर्गत अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक, सर्वाधिक गोलकर्ता र राईजिङ्ग प्लेयरलाईसमेत नगत पुरस्कारले पुरस्कृत गरिने प्रतियोगिता संयोजन बस्नेतले बताए ।
प्रतियोगिता सञ्चालनमा कुल ३ लाख ९० हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको लागि प्रायोजक र सहयोगदाताहरुको खोजी भैरहेको समेत संयोजक बस्नेतले बताए ।
प्रतियोगितामा स्थानीय सरकार निकायहरुबाट २ लाख रुपैयाँ र अन्य संघ संस्थाहरुबाट १ लाख नगद सहयोग आउने अपेक्षा रहेको शाखा अध्यक्ष गुरुङको भनाइ छ ।
त्यस्तै प्रतियोगितामा १२ टिम सहभागी अनुमान गरिएको छ भने प्रतियोगिताको अन्त्यमा पत्रकार टिम र जेसिज गोरखा टिमबीच मैत्रीपुर्ण खेल हुने शाखा अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०९:०४




