पोखरा
पोखरा महानगरको फोहोर आजबाट उठ्न थालेको छ । विवादका कारण केही दिनदेखि रोकिएको पोखराको फोहोर आजदेखि उठ्न थालेको हो ।
पोखरा महानगरपालिका, वडा नम्बर–३२ र लामेआहालस्थित स्थानीयवासीबीच बुधबार साँझ भएको सहमतिअनुसार १४ बुँदे सहमति कार्यान्वयनका लागि १५ दिनको समय दिइएको छ । सहमतिअनुसार यसअघि भएको सम्झौता कार्यान्वयन नभए पुनः फोहोर फाल्न रोक लगाइनेछ । सम्झौता कार्यान्वयन भए अबको एक वर्ष उक्त ठाउँमा फोहोर फाल्न दिने सहमति भएको महानगरपालिकाले जनाएको छ ।
महानगर र स्थानीयबिचको पछिल्लो सम्झौता माघ २३ गतेदेखि सकिएपछि फोहोर फाल्न स्थानीयले रोक लगाइएका थिए । फोहोर फाल्न रोक लगाएसँगै महानगरका गाडीहरु फोहोरले भरिएका थिए । यस्तैसडकका छेउमा फोहोर छरिएका, थुप्रिएर दु्रगन्धित फैलिएको थियो ।
पोखरा नयाँ विमानस्थल सञ्चालनमा आएपछि महानगरले वडा नम्बर ३२ लामेआहालमा अस्थायी रुपमा फोहोर फाल्दै आएको छ । मेयर धनराज आचार्यले बेलाबखत टिकट काटेर फोहोर प्रशोधन केन्द्र हेर्न जाने भनेर बताएको लामो समय हुँदासम्म फोहोर व्यवस्थापनको दीर्घकालिन व्यवस्थापन हुन सकेको छैन । महानगरले दैनिक १५० देखि २०० टनसम्मको फोहोर व्यवस्थापन गर्दै आएको छ ।
प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार १२:४३




