पोखरा ।
२४औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच प्रतिष्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा हुने उक्त खेल शनिबार दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । सेमिफाइनलमा पुलिसले चर्च ब्वाइज युनाइटेड क्लब र ब्ल्याक बुल्सले थ्री स्टार क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
दुवै टोली उपाधि जित्दै नयाँ इतिहास बनाउने दाउमा छन् । पुलिसले ६ पटक आहा रारा पोखरा गोल्डकपको उपाधि जितिसकेको छ । मनाङ मस्र्याङदी क्लबले पनि ६ पटक नै आहा राराको उपाधि जितेको छ । यो पटक उपाधि जित्न सके पुलिस आहा रारा गोल्डकपको सर्वाधिक उपाधि जित्ने एक्लो टोली बन्नेछ ।
पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६, २०७४ मा आहा रारा गोल्डकपको उपाधि जितेको थियो । पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि तयार रहेको बताए । उनले ट्रफी जितेर इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रिने उल्लेख गरे ।
पुलिसले प्रिक्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई १–०, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गरेको थियो । पुलिसका कप्तान राम वाजीले टिमको रणनीतिले काम गरिरहेको र सोही रणनीतिका अनुसार फाइनल खेल्ने बताए । राम्रो खेल खेलेर नतिजा आफ्नो पक्षमा पार्ने वाजीले विश्वास व्यक्त गरे ।
फाइनलमा स्थान बनाएको ब्ल्याक बुल्सले पहिलो सहभागितामै उपाधि जित्दै नयाँ इतिहास बनाउन चाहन्छ । ब्ल्याक बुल्सले पहिलो पटक आहा रारा गोल्डकपमा सहभागिता जनाएको हो । बाई पाएको ब्ल्याक बुल्सले क्वाटरफाइनलमा सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड क्लबलाई ३–० र सेमिफाइनलमा ५ पटकको विजेता थ्री स्टार क्लबलाई ४–० ले पराजित गर्दै फाइनलमा यात्रा सुनिश्चित गरेको हो ।
सहारा क्लब पोखराको आयोजनामा भइराखेको प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पाउनेछ । ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले फाइनल खेल एकदमै राम्रो हुने बताए । उनले फाइनल खेल ५०–५० हुने उल्लेख गरे । उक्त टोलीमा उज्वेकिस्तानको ए र बी डिभिजन लिग खेल्ने खेलाडी समावेश गरिएका छन् । कप्तान जाखिरगिरले फाइनलका खेलका लागि उत्साहित रहेको बताए ।
प्रकाशित मिति २०८१ फागुन २ गते शुक्रबार ०३:००




