काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दावासिनी कंसाकारले जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रत्येक वर्ष ६० देखि ६५ हजार नेपाली नागरिक जलनमा पर्ने गरेको उल्लेख गरिन् ।
उनले उहाँले नेपालमा जनशक्ति उत्पादन र स्वास्थ्य क्षेत्रलाई गम्भिर रुपमा नलिँदा उच्च पदस्थ व्यक्तिहरु समेत जलनमा पर्ने गरेको जिकिर गरिन् ।
उनले भने, ‘थिन्क सेफ्टी, डू सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सिमित भएको छ । त्यसैले जलन जसलाई जहाँ जुन बेला पनि हुनसक्छ । यसले ठूलो मान्छे सानो मान्छे भन्दैन । जसको पनि ज्यान जानसक्ने, अपांग हुने सक्ने सम्भावना हुन्छ । यही आवश्यकता महशुस गर्दै मैले ७ महिना अगाडि गैरसरकारी विधेयक दर्ता गराएको थिए । वर्षेनी ६० देखि ६५ हजार नेपालीहरु जलनमा पर्ने गर्छन । त्यसकारण जलन विधेयक पारित गरौं । जलन उपकेन्द्र स्थापना गरौं । र आवश्यक जनशक्ति उत्पादन र उद्धार प्रणालीमा सुधार गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उच्च पदस्थ व्यक्तिलाई तत्कालै हेलिकेप्टरको व्यवस्था गरिने तर आम नागरिकले एम्बुलेन्स समेत पाउन नसक्ने अवस्था रहेको उनको भनाइ छ ।
कंसाकारले ७ महिना अघि जनलसम्बन्धी गैरसरकार विधेयक संसदमा दर्ता गरेकी थिइन् ।
प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०२:००




