काठमाडौं ।
राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद कमला पन्तले नेपालमा भ्रष्टाचार झनै बढेको बताएकी छन् ।
आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार र सुशासनमाथि निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल गरेको अध्ययन प्रतिवेदनअनुसार यस वर्ष सन् २०२३ को भन्दा कम अंक पाएको बताएकी हुन् ।
उनले नेपालमा भ्रष्टाचार झनै बढेको र सुशासन झनै कमजोर हुँदै गएको तथ्यांकले देखाएको बताइन् ।
सन् २०२३ को भन्दा पनि कम हुनुमा के कमजोरी भए त्यसको मूल्यांकन गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘भ्रष्टाचार र सुशासनमाथि निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल यसले हरेक वर्ष झैँ यस वर्ष पनि सन् २०२४ को भ्रष्टाचार र सुशासनको अध्ययन विश्लेषण गरी हालै प्रतिवेदन सार्वजनिक गरेको छ । दुःखको कुरा नेपालमा भ्रष्टाचार बढेको र सुशासन खस्किएको प्रतिवेदनले देखाएको छ । नेपालले जम्मा ३४ अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष ३५ थियो । अझ हामी सुशासनमा कमजोर देखिएका छौँ । भ्रष्टाचार बढेको देखिएको छ । सन् २०२३ को भन्दा पनि कम हुनुमा हाम्रा केके कमजोरी हो ? त्यसको मूल्यांकन हुनुपर्छ ।’
दिगो विकासको लक्ष्य प्राप्ति गर्न पाँच वर्ष मात्रै बाँकी रहेको उनले जिकिर गरिन् ।
प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०२:१२




