युग र समय सुहाउँदो जनशक्ति उत्पादनमा जोड दिनुहोस् : मुख्यमन्त्री पाण्डे
पोखरा ।
संघीयतापछि प्रदेशले स्थापना गरेको पहिलो गण्डकी विश्वविद्यालयले आइतबार आफ्नो पाचौं वार्षिकोत्सव मनाएको छ ।
२०७६ सालमा ऐन आएपछि त्यहि वर्षको फागुन ४ गते कुलपतिको नियुक्ति भएको थियो । त्यहि दिनलाई विश्वविद्यालले आफ्नो स्थापना दिवसका रुपमा मनाइँदै आएको छ । न्यायीक परिषद्बाट स्वायत्तरुपमा सञ्चालन हुने यो नै नेपालको पहिलो विश्वविद्यालय हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युग र समय सुहाउँदो जनशक्ति उत्पादनमा जोड दिन आग्रह गर्दै प्राज्ञिक थलो भएकाले अनुसन्धानलाई पनि उत्तिकै महत्व दिन आग्रह गरे ।
मुख्यमन्त्री पाण्डेले ऐनले विश्वविद्यालयलाई स्वायत्तरुपमा चल्ने परिकल्पना गरे पनि स्वतन्त्र रुपमा सरकारसँग समन्वयबाट नै अगाडि बढ्न सुझाव दिए ।
विश्वविद्यालयले सरकारसँग समन्वय कम गरेकोप्रति उनको भनाइ लक्षित थियो ।
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नभएकोप्रति संकेत गर्दै उनले भने, ‘राजनीतिक हस्तक्षेप त भएन होला, तर विश्वविद्यालयले एकलौटी रुपमा गरेका निर्णयहरुका बारेमा पनि सोच्नुपर्ने होला नि !’ विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल शनिबार अर्थात् फागुन ३ गतेबाट सकिएको छ । त्यस अगावै कुलपतिको नियुक्तिका लागि ऐनको प्रावधान अनुसार कुलपति नियुक्ति सिफारिसका लागि समिति बनाइएको थियो । समिति बनाउँदा सरकारसँग समन्वय नएको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका छन् । कुलपति नियुक्ति सिफारिसका लागि न्यासिक परिषदका अध्यक्षको संयोजकत्वमा समिति रहने प्रावधान छ ।
मुख्यमन्त्री पाण्डेले विश्वविद्यालयले पठनपाठन, अनुसन्धान, एआई, आविष्कार र अन्वेषणको क्षेत्रलाई विशेष महत्व दिएर विभिन्न कार्यक्रमहरुगरी अगाडि बढ्न सुझाव दिए ।
विश्वविद्यालयलाई प्रदेश सरकारका तर्फबाट पूर्ण साथ रहेको पनि उनको भनाइ थियो ।
उक्त विश्वविद्यालयले नेपाललाई चाहिने दक्ष जनशक्ति विदेशबाट आउने र यहाँको जनशक्ति रोजगारीका लागि विदेशिने क्रम बढेको भन्दै यो दुवैलाई रोक्न आवश्यक रहेको जिकिर गरे ।
प्रविधियुक्त सिप जानेको जनशक्ति उत्पादन गरीप्रदेशले देखेको सपना पूरा गर्न विश्वविद्यालय लाग्नुपर्नेमा उनको जोड थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले विश्वविद्यालयले विशेष आधार स्तम्भ शैक्षिक, अनुसन्धान र नवप्रवर्तनका गतिविधिमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।
बदलिँदो विश्व परिवेश र आफ्नै प्रविधिको प्रयोग गरी नयाँ समयले ल्याएका नयाँ चुनौतीलाई चिनेर सम्भावनालाई खोजी गर्न विश्वविद्यालय लाग्नुपर्ने उनको भनाइ थियो ।
यसैगरि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले नयाँ सोच र उत्कृष्ट बन्ने लक्ष्यका साथ ज्ञानमा आधारित समाजको निर्माणमा विश्वविद्यालय अग्रसर हुनुपर्ने बताए ।
विश्वविद्यालयले नेपालमै पहिलोपटक स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टलिजेन्ट्स (एआई) को पढाइ सुरु गरेकोप्रति उनले प्रंशसा गर्दै धन्यवाद समेत दिए ।
प्रकाशित मिति २०८१ फागुन ५ गते सोमबार ११:१२




