उद्घाटन खेल द ग्लोबल आर्मी मनकामना र नारायणी मोटर्स युनिक क्लबबीच
गोरखा ।
गोरखा जिल्लाकै सर्वाधिक राशी भएको द अन्नपूर्ण स्कूल नवौं गोर्खाली रनिङ कपको तयारी पूरा भएको छ ।
हरमटारी क्लबको आयोजनामा ‘गोर्खाली रनिङ कप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लवको अभियान’ भन्ने मुल नाराका साथ फागुन ७ देखि १४ गतेसम्म गोरखा सदरमुकामस्थित हरमटारी रंगशालामा रनिङ कप हुँदै छ ।
क्लबले सोमबार रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पूरा भएको जानकारी दिएको हो । रनिङ कपमा १४ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ ।
उक्त टिमका प्रत्येक खेलाडीहरुको खेल अवधि भर तीन लाख रकम बराबरको दुर्घटना बिमा समेत गरिएको क्लवका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।
क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले एउटा क्लबले चार विदेशी खेलाडी राख्न पाउने र तर एक पटकमा तीन खेलाडी मात्र मैदान प्रवेश गर्न पाउने नियम बनाएको बताए ।
क्लवका महासचिव किरण ढकालले प्रतियोगिताका लागि टाइसिट तथा खेल समय तालिका सार्वजनिक गरेका छन् । जसअनुसार उद्घाटन खेल द ग्लोबल आर्मी मनकामना र नारायणी मोटर्स युनिक क्लब चितवनबीच दिउँसो २ बजे हुनेछ ।
दोस्रो दिनबाट भने दुई खेल हुने क्लबका महासचिव ढकालले जानकारी दिए । उनका अनुसार पहिलो खेल सेनाको रिपुमर्दन गण र लक्ष्मीबजार हर्ट क्लबबीच हुनेछ ।
दोस्रो खेलमा सतिपिपल क्लब र सूर्यादय युथ फेमेली छेपेटार भिड्ने छन् । उनका अनुसार तेस्रो दिन द हिमालयन बगैंचा आरुघाट र न्यू दौंतरी युथ क्लब चित्रेपोखरीबीचको खेल मात्र हुनेछ ।
यस्तै, फागुन १० गते समिचौर युथ क्लब गोरखा र न्यू जनसहारा युथ क्लब देउराली एवं हरमटारी क्लब र गण्डकी प्रोभिन्स पुलिस टिमबीचका खेलहरु हुने छन् ।
फागुन ११ बाट दोस्रो चरणका खेलहरु सुरु हुने उनले वताए । सो दिन द ग्लोबल आर्मी मनकामना र नारायणी मोटर्स युनिक क्लब चितवनबीचको बिजेता टिम चाइनिज धारा फेमेली क्लब गोरखासँग भिड्नेछ ।
त्यस्तै, दोस्रो खेल रिपुमर्दन गण र लक्ष्मीबजार हर्ट क्लबका बिजेता टिम र सूर्यपुर एफसी चितवनबीच हुने आयोजकले जनाएको छ ।
फागुन १२ गते सतिपिपल क्लब र सूर्योदय युथ फेमेली छेपेटार तथा समिचौर युथ क्लब र न्यू जनसहारा युथ क्लब देउरालीबीचका बिजेता टिमहरु एक आपसमा प्रतिस्पर्धा गर्ने छन् ।
सोही दिनको दोस्रो खेल द हिमालयन बगैंचा आरुघाट र न्यू दौंतरी युथ क्लब चित्रेपोखरी तथा हरमटारी क्लब र गण्डकी प्रोभिन्स पुलिस टिम गण्डकीबीचका बिजेता टिमहरु भिड्ने छन् ।
फागुन १३ बाट सेमिफाइनलका खेलहरु सुरु हुने छन् । उक्त खेलमा दोस्रो चरणका बिजेता टिमहरुबीच प्रतिस्पर्धा हुने छ ।
फाइनल खेल भने फागुन १४ गते दिउँसो १ बजे हुने आयोजक क्लबका अध्यक्ष गुरुङले बताए ।
प्रतियोगिताको विजेताले टिमले ४ लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र र उपविजेताले २ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता अवधिभर खेलमा अनुशासित टिमलाई ३५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदयमान गोरखाका खेलाडीलाई नगद रु १० हजार पुरस्कार दिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८१ फागुन ६ गते मंगलबार १०:०४




