पोखरा ।
देशको वर्तमान अवस्था हेर्दा हरकोही नेपालीहरु निराश देखिन्छन् । जनताले बोल्न पाएनन् भनेर ल्याइएको गणतन्त्रमा जनता कै आवाज दबिएको छ । राजाले एक्तौटि शासन गरेको भन्दै सिंहदरबार छिरेकाहरुले लोकतान्त्रिक व्यवस्थामा राजाकै छायाँ देखाएका छन् । वर्तमान परिस्थितिमा मानव अधिकार संरक्षण र नागरिकको रक्षा गर्न संवैधानिक राजसंस्था व्यवस्थाको आवाज उठ्न थालेको छ ।
संसद र सत्तामा समाजको नेतृत्व गर्न गएका व्यक्तिहरू आफ्नै स्वार्थ र पदको लागि लागि परेको छन् । यता संसदमा मानव अधिकार र नागरिक सुरक्षालाई उपेक्षा गर्दै आफ्नो पद जोगाउन तथा कार्यकाल विस्तार गर्नमा ध्यान केन्द्रित भएको देखिन्छ । यही कारणले युवायुवती, जसले देशको भविष्य निर्माण र समाजको नेतृत्व गर्नुपथ्र्यो, उनीहरु देश–विदेशमा भौतारिन बाध्य छन् । नेतृत्वमा बसेकाहरुका कारण राष्ट्र अझै कमजोर बन्दै गएको छ, भ्रष्टाचारी राजनीतिज्ञ नेतृत्वकर्ताहरूले देशलाई धराशायी बनाउँदै लगेका छन् ।
यहि अवस्थाका कारण वर्तमान समयमा संवैधानिक राजसंस्थाको विधान निर्माणमा विषय उठ्न थालेका छन् । दुर्घटना घटेपछि पार्टीको झण्डा बोकेर न्याय माग्न जानेहरू समयअनुसार फर्केर हेर्दैनन् । उनीहरू न्याय माग्न जान्छन् कि पार्टीको प्रचार–प्रसार गर्न?
पार्टीको नाममा आफ्नै स्वार्थलाई अघि बढाउने, अरूको अहित चाहने, र आफ्नो मात्र भलो सोच्ने अवसरवादीलाई नेतृत्वकर्ताको नाममा कलंक मान्नुपर्छ । जनता माथि बसेर राजनीति गर्ने अवसरवादीको अन्त्य जरुरी छ । साथै, जनताको स्वास्थ्य, शिक्षा, रोजगार, र अन्तर्राष्ट्रिय सुरक्षाका लागि न्याय समिति तथा स्वतन्त्र नागरिक न्यायजस्ता आयोगहरूको स्थापना गरी नागरिक सुरक्षाको सुनिश्चितता गर्नुपर्छ । त्यसका लागि फेरि पनि राष्ट्रलाई क्रान्तिको नयाँ मोडमा लैजानु आवश्यक छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका नेपाली नागरिक सम्मानपूर्वक रहने वातावरण बनाउन प्रगतिशील भएर एकजुट हुन आवश्यक देखिन्छ ।
वि.सं. २०१५ मंसिर २९ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध कायम हुँदा राजा महेन्द्र अमेरिकाको भ्रमणमा जाँदा अमेरिकी राष्ट्रपतिले सार्वजनिक बिदा दिएर सम्मानपूर्वक स्वागत गरेका थिए । तर, आजका नेतृत्वकर्ताहरुले अमेरिकासँग ठगी गरेको आरोप लगाउने अवस्था सिर्जना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाम्रो वीर पुर्खा र राष्ट्रमाथि अविस्मरणीय कलङ्कित आरोप लगाएर विश्वभर हाम्रो गौरवशाली पहिचानमा दाग लगाउने परिस्थिति निम्त्याएका छन् ।
देशको दिशा परिवर्तन गर्न क्रान्तिकारी र प्रगतिशील बाटोमा अघि बढ्नुपर्छ । हाम्रा पुर्खाहरूको सम्मान जोगाउन सबै लागिपर्नुपर्छ ।
नोट : प्रदिप कुशवाहा गण्डकी विश्वविद्यालयमा कानुन अध्ययनरत विद्यार्थी हुन् ।
प्रकाशित मिति २०८१ फागुन १० गते शनिबार ०२:०३




