पाेखरा ।
कुरा २०५४/५५ सालतिरको हो । नेपालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा शुरु भएको जनयुद्धले २/३ वर्षको अवधि पार गरिसकेको थियो । प्रहरी/प्रशासनमार्फत तत्कालिन श्री ५ को सरकार जनयुद्धलाई दबाउन कम्मर कसेर लागेको थियो । यस्तो परिस्थितिमा सञ्चारजगत पनि त्यसबाट अछुतो रहन सकेको थिएन । परिवर्तनकारी, क्रान्तिकारी, जनयुद्धसम्बन्धी लेख रचना प्रकाशन÷प्रशारण गरेबापत विभन्न किसिमका समस्या भोग्नु पथ्र्यो, भिडन्तका सत्य–तथ्य केलाएर समाचार छाप्दा प्रशासनको आँखाको तारो बन्नु पथ्र्यो । यस्तो अवस्थामा पनि पोखराबाट प्रकाशन शुरु गर्यो ‘राष्ट्रिय स्वाभिमान साप्ताहिक’ले ।
राज्यले सेन्सर गरेर समाचारहरु दिन्थ्यो, त्यसैलाई छाप्नु पर्ने, प्रसारण गर्नुपर्ने बाध्यता थियो सञ्चारमाध्यमहरुको । ‘वास्तविक घटना के रहेछ त ?’ भनेर काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय जनादेश साप्ताहिक खोजेर पढ्नुपर्ने अवस्थामा कास्की जिल्लाबाट प्रकाशित राष्ट्रिय स्वाभिमान साप्ताहिकले कास्की र यस वरपरका धेरै जिल्लाहरुमा सत्य–तथ्य समाचार र क्रान्तिकारी विचार पुर्याउने कामको शुरुवात गर्यो ।
हुन त यो पत्रिका त्यो बेला नयाँ प्रकाशन भने थिएन । पहिले नै दर्ता भएर केही अंक प्रकाशित भई बन्द भएको पत्रिका थियो । तर ०५४/०५५ सालतिर आएर यसलाई पुनः प्रकाशन गरिनुपर्छ भन्ने मान्यताका साथ कोमलनाथ बराल, थमन परियार लगायतले जिम्मा लिनुभयो । उहाँहरुले क्रमशः सम्पादक, सह–सम्पादक र अरु जिम्मेवारीहरु सम्हाल्नु भयो । उहाँहरुले त्यो जिम्मेवारी त लिनुभयो तर समस्या पर्यो स्रोतसाधनको । स्रोतसाधन जुटाउने मुख्य कुरा आर्थिक नै भएकाले आर्थिक जुटाउन सहकारीको निर्माण गरियो जसलाई क्षितिज जनसहकारी संस्था भनी नामाकरण गरियो ।
पत्रिका प्रकाशनका शुरुवाती चरणमा विभिन्न साथीहरु जोडिदै कालान्तरमा राजु क्षेत्री, महेश पहारी, डम्मर परियार लगायतका साथीहरुले व्यवस्थापकिय भूमिकालाई निरन्तरता दिनुभयो । त्यसैगरी म आफूले पनि शुरुवाती अवस्थाको चरणमा वितरकको भूमिका निर्वाह गरे । पत्रिका पोखरा अफसेट प्रेस, पृथ्वीचोकमा छापिन्थ्यो भने एकता कम्प्युटर सर्भिसमा डिजाइन गरिन्थ्यो ।
समयक्रमसँगै पत्रिका स्थापित हुँदै गएपश्चात पत्रिकाका शुभचिन्तकहरु पनि बढ्दै जान थाले र पत्रिकालाई अझ बढि आत्मनिर्भर बनाउँदै जानुपर्छ भन्ने सन्दर्भमा हामी फिल्डमा बढि खटिन थाल्यौं । वितरण सँगसँगै मैले पत्रकारिता तालिम लिन थालें र पत्रिका वितरण गर्ने, विज्ञापन संकलन गर्दागर्दै म संवाददातामा रुपान्तरित भएँ र समाचारहरु बनाउने, अन्तरवार्ता ल्याउने, फोटो खिचेर ल्याउने, रिपोर्ट बनाउने गर्न थालें । तर त्यतिले मात्रै पुग्दैन भन्ने भावका साथ म कम्प्युटर तालिम पनि लिन थालें र एकता कम्प्युटरका डिजाइनर तिलक सुनार (जसलाई म आफ्नो कम्प्युटर गुरु पनि मान्छु) सँग सहयोगीको भूमिका निर्वाह गर्न थाले । यसरी प्रविधिको क्षेत्रमा पनि फड्को मार्दै क्रमशः पत्रिकाले मलाई प्राविधिक प्रमुखको ठाउँ दियो र अर्को एकजना भाईलाई सहयोगी राखेर पत्रिकालाई अझ बढि आत्मनिर्भर बनाउने काम भयो ।
सोही क्रममा देशमा संकटकालरुपी कालो बादल छायो । २०५८ सालको मंसिर महिनामा संकटकालको घोषणा भयो र पत्रिका सञ्चालन गर्ने अवस्थामा नै रहेन । पत्रिका सञ्चालन गर्ने अवस्था नै नरहेपछि प्रकाशन बन्द हुन पुग्यो । त्यसबेलाका समस्याहरुसँग जुध्दै हामी स्वाभिमानका सहयात्रीहरु कोही कतै कोही कतै भयौं तर फेरी जुट्यौं २०५९ को युद्धविराममा र पुनः प्रकाशन शुरु गर्यौं । तर युद्धविराम भंग भएपश्चात सरकार पुनः दमनमा उत्रियो र प्रकाशन पुनः बन्द हुन पुग्यो । प्रकाशन पुनः सञ्चालनमा ल्याउन २०६२/०६३ को जनआन्दोलन नै पखर्नु पर्यो ।
यस बीचमा (२०५८ मा संकटकालको शुरुवातदेखि ०६२/०६३ को जनआन्दोलनसम्म) पत्रिकासँग जोडिएका कारण थुप्रैले दुख–कष्ट व्यहोनु पर्यो । महेश पहारीलाई पक्राउ गरी जेल चलान गरियो जहाँ चरम यातनाका कारण उहाँले शहादत प्राप्त गर्नुभयो । राजु क्षेत्रीलाई उहाँकै घरबाट पक्राउ गरी ‘यही हो तेरो क्रान्तिकारी लेख लेख्ने हात ? यही हो तेरो भिडन्तका समाचार लेख्ने हात ?’ भन्दै हात भाँच्दै ब्यारेक पुर्याइयो । पछि उहाँलाई गजुरी ब्यारेकमा लगियो जहाँबाट उहाँले जेलब्रेक जस्तो साहस गरेर त्यो बेलाको शाही सरकारलाई चकित तुल्याउनु भयो ।
यता थमन परियार र कोमल बराल भुमिगत बन्नु पर्यो र उहाँहरु भुमिगत नै रहेर देश र जनताको परिवर्तनका लागि क्रियाशिल भईरहनु भयो । भुमिगत अवस्थामै थमन परियारले २०६२ कार्तिकमा नवलपरासीमा शहादत प्राप्त गनुभयो ।
वास्तवमा स्वाभिमानको इतिहास खोतल्दै जाँदा यस्ता धेरै प्रसंगहरु पनि छन् जसले मलाई र पत्रिकासँग जोडिएका साथीहरुलाई एउटा छुट्टै प्रेरणा दिईरहन्छ । मेरै कुरा गर्दा मैले अझै पनि राष्ट्रिय स्वाभिमान साप्ताहिक भनेर कसैले भन्दा वा पुराना पत्रिका देख्दा मलाई बाबा थमन परियारको मुहार याद आईरहन्छ । यस्तो एउटा पत्रिका जसको स्वाभिमान कहिले घट्न नदिनका लागि कैयौं साथीहरुले प्राणको आहुती दिए, कैयौं साथीहरुले छोरा–छोरी भोकै राखेर, ऋण काडेर भएपनि लगानी गरे, कैयौं धरपकडमा परेर जेलनेल भोगे तर आज आएर पत्रिकाको बेथिती देख्दा मनै कुँडिन्छ । ०६२/०६३ को जनआन्दोलन पछिको देशको राजनीतिक अवस्थामा आएको परिवर्तनले गर्दा पत्रिका पुनः प्रकाशनमा आएको थियो र स्याहार–सम्भार पनि केही वर्षसम्म भएकै हो तर पत्रिकासँग जोडिएर नाम र दाम कमाउने होड चलेपिछ पत्रिका बेवारिसे र महत्वहिन जस्तै बन्न पुग्यो ।
विडम्बना ! हिंजोको अफ्ठ्यारो स्थितिमा साहसी योद्धाको भूमिका निर्वाह गरेको राष्ट्रिय स्वाभिमान साप्ताहिक आज आफै निरिह र लाचार बनेर प्रेस काउन्सिलको फाइलमा मात्रै सिमित हुन पुगेको छ ।
नाेट : लेखक परियार राष्ट्रिय स्वाभिमान साप्ताहिकका पूर्व संवाददाता हुन् ।
प्रकाशित मिति २०८१ फागुन १३ गते मंगलबार ०५:३८




