फेस्टिभलले पर्यटन प्रवद्धनमा थप टेवा दिनेछ : संचारमन्त्री गुरुङ
पोखरा ।
नेपाल लिटरेचर फेस्टिभलको १२ औं संस्करण पोखरामा सुरु भएको छ ।
साहित्यको कुम्भमेला मानिने फेस्टिफल फेवा ताल किनार बाराही घाटमा सुरु भएको हो ।
बुकवर्म फाउन्डेसनको आयोजनामा सुरु भएको फेस्टिभलको नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
गुरुङले पोखरालाई पर्यटकीय राजधानी घोषणा, पर्यटन वर्ष घोषणा भएको सन्र्दभमा नेपाल लिटरेचर फेस्टिभलले पर्यटन प्रवद्धनमा थप टेवा दिने बताए ।
उनले पोखरामा माइस पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए ।
फागुन १८ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा भूपी र अलिमियाँ कक्षमा साहित्य, सामाजिक विषय, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका सेसन चल्नेछन् ।
कार्यक्रमको उद्याटन सत्रमा महेन्द्र पी लामाले सीमा, सम्बन्ध र साहित्यमा विद्वत प्रवचन राखेका थिए ।
‘अलिअलि हार हो, अलिअलि जित’ शीर्षकमा अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद चलेको थियो ।
यस्तै कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले भूपीको सम्झनाको चर्चा गरे ।
अलिमियाँ कक्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग विजय तिमिल्सिनाले सञ्चार संवाद गरे ।
देश–विदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकार लगायतको उपस्थिति रहने महोत्सवमा भूपी र अलिमियाँ कक्ष छन् ।
यी २ कक्षमा बेलुका ६ बजेसम्म साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि सेसन चल्नेछन् ।
महोत्सवमा नेपाली क्रिकेटका पारस खड्का, डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् ।
नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका २ सत्रमा रहनेछ ।
नेपाली लोक संगीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउनेछ भने चित्रकला पनि समवेस गरिएको फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।
प्रकाशित मिति २०८१ फागुन १६ गते शुक्रबार ०८:१८




