पोखरा ।
कास्कीको मादी गाउँपालिकाले दोस्रो अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । पालिकाले स्थापना दिवसको अवसरमा फागुन २७ देखि २९ गतेसम्म प्रतियोगिता गर्न लागेको हो ।
आइतबार पोखरामा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी दिएको हो । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले स्थापना दिवसमा विविध कार्यक्रम गरेर मनाउन लागिएको जानकारी दिए । जस अन्तरर्गत भलिबल प्रतियोगिता मुख्य कार्यक्रम रहेको छ ।
गाउँपालिकाको वडानम्बर ६ याङ्जाकोटमा प्रतियोगिता सञ्चालन हुनेछ । पहिलो अध्यक्ष कप पालिका स्तरीय भएपनि अहिले खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको गुरुङले बताए ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ तर्फ उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने पालिकाले जनाएको छ । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
पालिका स्थापना दिवसको अवसरमा पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिता अवधिभर होमस्टेमा १ हजार रुपैयाँको प्याकेज रहेको पालिकाले जनाएको छ ।
प्रकाशित मिति २०८१ फागुन १८ गते आइतबार ०४:१५




