२०८३ साउन २१ गते बिहीबार

केपी ओली कप फुटबल : उपाधिका लागि मछिन्द्र र त्रिभुवन आर्मीबिच प्रतिस्पर्धा हुँदै

केपी ओली कप फुटबल : उपाधिका लागि मछिन्द्र र त्रिभुवन आर्मीबिच प्रतिस्पर्धा हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १९ गते सोमबार ०९:४२

यसैबीच प्रतियोगिताको प्रमुख अतिथिका रुपमा इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोन हिजो नेपाल आएका छन् ।

पोखरा ।

तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मछिन्द्र एफसी र विभागीय टोली त्रिभुवन आर्मी एफसीबिच आज प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल त्रिपुरेश्वरको दशरथ रगंशालमा साँझ ६ बजे हुनेछ । मच्छिन्द्र क्लब केपी ओली कपको दुई पटकको विजेता हो ।

यसअघि आइतबार पत्रकार सम्मेलन गर्दै दुवै टोलीका कप्तान र प्रशिक्षकले फाइनलका लागि टिम पूर्ण रूपमा तयार भएको जनाएका छन् ।

विभागीय आर्मीका प्रशिक्षक मेघराज केसीले दुवै टोली राम्रो भएकाले फाइनलमा पुगेको बताए ।

उनले जित्नका लागि खेल्ने हो भन्दै उपाधि आफ्नो टोलीले चुम्ने विश्वास व्यक्त गरे । खेलाडी तयार पारेर टिम बनाउने मौका पाएको र अब नतिजा दिने बेला आएको केसीले बताए ।

मछिन्द्र क्लबका प्रशिक्षक सन्तोष न्यौपानेले फाइनलका लागि तयार रहेको र साबिक विजेता भएकाले दबाब भएको बताए ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताका विजेताले १५ लाख ११ हजार १११ रुपियाँ प्राप्त गर्ने छ भने उपविजेताले पाँच लाख रुपियाँ पाउने छ ।

उत्कृष्ट खेलाडीलाई एक लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार प्रदान गरिने छ ।

यसैबीच प्रतियोगिताको प्रमुख अतिथिका रुपमा इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोन हिजो नेपाल आएका छन् ।

सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर बुफनले इटालीका लागि १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनले नेपाल विश्वको उत्कृष्ट देश रहेको र आफ्नो नेपाल भ्रमण स्मरणीय हुने भन्दै आयोजकलाई धन्यवाद दिए ।

प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार ०९:४२
हजुरको प्रतिक्रिया