प्रदेश २ को सरकारमा नेपाली कांग्रेस र माओवादीलाई पनि सहभागी गरेर मुख्यमन्त्री लालबाबु राउतले आफूलाई सुरक्षित गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतले आजै काँग्रेससँगै माओवादी केन्द्रलाई पनि सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्न लागेका हु्न् ।
काँग्रेसलाई ३ वटा मन्त्रालय र माओवादीलाई पनि २ वटा मन्त्रालय दिने सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो ।
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको सत्ता पक्षका वार्ता समिति सदस्य भूमि, व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
तीनै जना मन्त्रीले बुधबार नै सपथ लिनेछन् ।
यता माओवादी केन्द्रको तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने माओवादी स्रोतले जनाएको छ । यद्यपि उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे टुंगो लागेको छैन ।
माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले मन्त्रालय बारे टुङ्गो लाग्न बाँकी रहेको बताए ।




