पाेखरा । सन् २०२२ काे फिफा विश्वकपका लागि नेपाल एसियाली क्षेत्रको दोस्रो चरणको छनोटबाट बाहिरिएको छ ।
विश्वकप र २०२३ को एसिया कपको संयुक्त छनोटको रुपमा रहेको एसियाली क्षेत्रीय छनोटको दोस्रो चरणको खेलमा सोमबार जोर्डनसँग ३–० गोलले पराजित भएपछि नेपालको विश्वकप छनोटको यात्रा औपचारिक रुपमै समाप्त भएको हो । समूह बी मा रहेको नेपालले अब अष्ट्रेलियासँग अन्तिम खेल खेल्न बाँकी छ ।
एसियाली क्षेत्रीय छनोटको आठ समूहमध्ये प्रत्येक समूहको समूह विजेता र उपविजेतामध्ये उत्कृष्ट चार टिम विश्वकपको लागि तेस्रो चरणको छनोटमा प्रवेश गर्नेछन् ।
यस समूहमा अष्ट्रेलिया लगातार ६ खेल जित्दै १८ अंकसहित शीर्ष स्थानमा छ भने नेपाललाई पराजित गरेको जोर्डन १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । कुवेत १० अंकसहित तेस्रो स्थानमा छ । पाँचौ हार ब्यहाेरेकाे नेपाल समूहमा चौथो हुने पक्का भएको छ । याे समूहम लगातार सात हार ब्यहाेरेकाे चाइनिज ताइपेई अंकविहीन हुँदै पुछारमा छ ।
विश्वकपको यात्रा सकिए पनि नेपालले अझै एसिया कपको लागि छनोट खेल्नेछ । यदि समूहमा दोस्रो वा तेस्रो हुन सकेको भए नेपाल एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्ने थियो । तर समूहमा चौथो स्थानमा रहने पक्का भएको नेपालले त्यो अवसर गुमाइसकेको छ । साेझाे बाटाे गुमाएकाे नेपालले अब तेस्रो चरणको छनोटमा पुग्न प्लेअफ हुँदै जानुपर्नेछ ।
अहिले भइरहेको छनोटबाट उत्कृष्ट १२ टिम सिधै एसिया कपमा छनोट हुनेछन् भने त्यसपछि १६ टिम एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । एसिया कपमा २४ टिमले प्रतिस्पर्धा गर्ने भएकोले बाँकी १२ स्थानका लागि तेस्रो चरणको छनोट हुनेछ । त्यसमा थप ८ टिम प्लेअफमार्फत नै आउनेछन् ।
त्यसैले नेपालले अबको यात्रा प्लेअफबाट हुनेछ । प्लेअफमा अहिले छनोट खेलिरहेका ८ समूहमध्ये पाँचौ हुने टिम र चौथो हुनेमध्ये कमजोर ४ टिमले खेल्नेछ ।
समूह एचमा रहेको उत्तर कोरियाले कोरोनाको कारण नाम फिर्ता लिएपछि प्लेअफका लागि अब ११ टिम मात्र हुनेछ । उत्तर कोरियाले नाम फिर्ता लिएपछि हरेक समूहमा दोस्रो हुने र पाँचौ हुने तथा चौथो हुने र पाँचौ हुने टिमबीचको नतिजा र त्यसको अंक गणना हुनेछैन । त्यसैले नेपालले दुई खेल जित्दै ६ अंक जोडे पनि त्यो अन्तिम स्थानको चाइनिज ताइपेई विरुद्ध भएकोले तेस्रो चरणमा जानका लागि नेपालको त्यो अंक गणना हुनेछैन ।
अहिलेसम्म प्लेअफका लागि ६ टिम छनोट भइसकेका छन् । जसमा समूह ए बाट गुआम, समूह बी बाट चाइनिज ताइपेई, समूह सी बाट कम्बोडिया, समूह एफबाट मंगोलिया, समूह जी बाट इन्डोनेसिया र समूह एचबाट श्रीलंका छन् ।
सिधै तेस्रो चरण पुग्ने सम्भावना सकिसकेकाले नेपाल पनि यो सूचीमा थपिनेछ । यसबाहेक दक्षिण एसियाकै बंगलादेश र माल्दिभ्सले पनि प्लेअफ नै खेल्नुपर्ने सम्भावना धेरै देखिएको छ । बाँकी टिमको टुङ्गो समूह चरणका खेलहरु सकिएपछि नै हुनेछ ।
अहिलेसम्म आयोजक चीनसँगै छनोट चरण पार गरेका जापान, कतार र सिरिया एसिया कपका लागि छनोट भइसकेका छन् । यस्तै जापान र सिरिया विश्वकपका लागि तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् । कतार आयोजकको नाताले सिधै विश्वकपमा छनोट भइसकेको छ । त्यसैले कतारबाहेक बाँकी ७ समूहको विजेता र उपविजेतामध्ये उत्कृष्ट ५ गरी कुल १२ टिम एसियाबाट विश्वकपका लागि तेस्रो चरणको छनोटमा पुग्नेछन् ।
प्रकाशित मिति २०७८ जेठ २६ गते बुधबार ०९:१४




