माओवादी केन्द्र र माधव नेपाल पक्ष छाेडेर जाने ३ जना मन्त्री हुँदै
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गर्दै छन् ।
खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्न लागेका हुन् ।
स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन् । त्यस्तै बादलपत्नी नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, नारदमुनी राना- वनमन्त्री, मोहन बाँनिया- विना विभागीय, राजकिशोर यादव-उद्योग मन्त्री, गणेश पहाडी- सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएका छन् ।
नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाएको छ । आज सपथ लिन लागेका मन्त्रीहरूमध्ये नैनकला थापा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलपत्नी हुन् । ज्वालाकुमारी साह भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी थिइन् । यस्तै गणेश पहाडी माधव नेपाल समूहभित्र पनि योगेश भट्टराई निकट मानिन्छन् ।
यसअघि अघिल्लो साता प्रधानमन्त्री ओलीले पुरानो मन्त्रिमण्डलका चार जनाबाहेक सबैलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहलाई लिएर गरिएको उक्त मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छन् ।
प्रकाशित मिति २०७८ जेठ २७ गते बिहीबार ०१:३७




