खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी नैनकला
पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री थपेका छन् ।
गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशाकुमारी विकलाई ओलीले आज मन्त्री बनाएका हुन्।
प्रधानमन्त्री ओलीले नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेका छन् । उनी पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती हुन् । सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद नरहेका बादलको पद खारेज भएको थियो ।
माओवादी छाडेर आफूतिर आएका बादललाई पुरस्कारस्वरूप प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन् ।
सञ्चारमन्त्री बनेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन्। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद भएकी थिइनन् । यस्तै प्रधानमन्त्रीले कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्री बनाएका छन् । गृहमन्त्रीमा नियुक्त अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए।
२०६४ सालको संविधान सभा चुनावमा पराजित भएका अधिकारीले २०७० मा टिकट नै पाएका थिएनन् । लामो समय आफ्नो समूहमा रहेका अधिकारीलाई ओलीले नै कोइराला मन्त्रिपरिषदमा पठाएका हुन् । २०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बनेका थिए । नेकपा एकता भएपछि उनी हटेर देव गुरूङ प्रमुख सचेतक भएका हुन् ।
ओलीको २५ सदस्यीय मन्त्रीमण्डलमा अधिकांश प्रदेश नम्बर २ का छन् । अर्थात १४ जना प्रदेश नम्बर २ बाट बनाएका छन् । जुन ५६ प्रतिशत हो । यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । त्यसबेला जसपाबाट राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए भने शरदसिंह भण्डारी ऊर्जा मन्त्री भएका थिए ।
अनिलकुमार झा खानेपानी मन्त्री, लक्ष्मणलाल कर्ण भूमि सुधार, एकवाल मियाँ खेलकुद मन्त्री, विमल श्रीवास्तव श्रममन्त्री, उमाशंकर अरगरिया, पर्यटन मन्त्री, चन्दा चौधरी महिला तथा बालबालिका मन्त्री, रेनुका गुरूङ महिला राज्यमन्त्री र चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनाएका थिए ।
साथै ओलीले जेठ २१ मै एमालेबाट बिष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका थिए । पौडेल अर्थमन्त्री र महासेठ परराष्ट्र मन्त्री पनि छन् । शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बनाएका थिए । उपप्रधानमन्त्री महासेठ र कानुन मन्त्री रहेका लीलानाथ श्रेष्ठ पनि प्रदेश नम्बर २ कै हुन् ।
काे कुन मन्त्री ? हेर्नुहाेस् ।





