काठमाडौं ।
मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्नका लागि ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको छ ।
बैठकले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ऊर्जामन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने अधिकार दिएको हो ।
सरकारलाई थाहै नदिई भारतबाट नेपाल आयात हुने विद्युतमा महसुल दर बढाएको भन्दै गएको हप्ता ऊर्जा मन्त्रालयले घिसिङलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।
घिसिङले आफूलाई स्पष्टीकरण सोध्ने र पदमुक्त गर्ने अधिकार मन्त्रालयसँग नरहेको दाबी गरेका थिए ।
यसअघि पनि ऊर्जा मन्त्रालयले घिसिङलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो ।
घिसिङले कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै बुझाएका थिएनन् ।
त्यस्तै सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिश भएका देवकोटालाई मन्त्रालयको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको बढुवा सिफारिश समितिले पहिलो नम्बरमा अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र,दोस्रो नम्बरमा डा.टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका लागि सिफारिश गरेको थियो ।
यस्तै प्रशासन सेवातर्फको सचिवमा मधेश प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई बढुवा गर्ने निर्णय भएको छ ।
बढुवा सिफारिश समितिको बैठकले भुजेललाई दोस्रो नम्बरमा सचिवमा बढुवाका लागि सिफारिश गरेको थियो ।
प्रकाशित मिति २०८१ फागुन २२ गते बिहीबार ०९:२०




