पोखरा।
सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवबाट करिव ३ कराेड संकलन भएकाे छ । महायज्ञ फागुन १४ देखि शुरू भएर २१ गते बुधबारसम्म चलेकाे थियाे ।
महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए । मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा बुधबार मात्रै ८० लाख बढी दान थपिएको थापाले जानकारी दिए।
महायज्ञ समापनकाे दिन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गरेका छन् ।
उद्घाटनका अवसरमा प्रमुख आचार्यले सराङकोट अब कास्कीकाे एक महत्वपूर्ण धामको रुपमा विकास भएको बताए । पोखरा भ्रमण वर्षका सन्दर्भमा पाेखरा भित्रिने पर्यटक सराङकोट घुम्न आउने र साे का लागि सराङकाेट तयार रहेकाे उल्लेख गरे ।
‘अव पर्यटक हिमाल हेर्न, सुर्योदय र सुर्यास्तको अवलोकन गर्न मात्रै सराङकोट आउने होइन, यो अव कोट मात्रै रहेन, सराङकोटमा अन्य धेरै आयाम थपिएका छन्’ प्रमुख आचार्यले भने।
प्रमुख आचार्यले सराङकोटमा निर्माणाधिन संरचनाकाे निर्माणमा महानगरले सघाउने बताए ।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले सबैको साथ सहयोगबाट महायज्ञ सफल भएको जनाउँदै यसकाे प्रचार प्रवर्द्वनमा सवैले थप सवैकाे सहयाेगकाे अपेक्षा गरे। सराङकाेटककाे विकास र प्रचारले सवै पाेखरेलीकाे फाइदा हुने जिसीकाे धारणा थियाे ।
महायज्ञका सहअध्यक्ष समेत रहेका वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले धेरै दानदाताको सहयोगबाट सराङकोट धाम सिञ्चीत भएको स्पष्ट्र पार्दै उत्साहजनक सहभागिताका बीच यज्ञ सफल भएको धारणा बताए ।
कार्यक्रमका बीच प्रमुख वाचक भागवत् भाष्कर प.कमलनयन गौतमसहित सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई आयोजकले सम्मान गरेकाे थियाे ।
महायज्ञमा कास्की, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दी, धादिङ समेतबाट गरी करिव १ लाख ६० हजार भक्तजनले सहभागि जनाएको महायज्ञका महासचिव शम्सेरबहादुर थापाले जानकारी दिए । महायज्ञमा उपस्थित हुनेमध्ये करिव ६० प्रतिशत अन्नपूर्ण केवलबार मार्फत तथा अन्य महायज्ञका निःशुल्क वस एवम् स्वतस्फुर्त रुपमा सराङकोट धाम पुगेको आयोजकले जनाएको छ ।
सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ।
यहि फागुन १४ गते महाशिवरात्रीको दिनदेखि सुरु उक्त सराङकोट यज्ञको यसअघि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।
प्रकाशित मिति २०८१ फागुन २२ गते बिहीबार ०२:४७




