काठमाडौं ।
काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ ।

वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार (आज) तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरु भएको मान्ने गरिन्छ ।

आज बिहान ८ः३३ बजेको शुभ साईतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् ।

आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ ।

चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा चीर ठड्याइएको बताए । उनका अनुसार चीर ठड्याइसकेपछि विधिवत रुपमा होली पर्व शुरु भएको मानिन्छ ।
होली पर्व असत्यमाथि सत्यको जित भएको रुपमा पनि मान्ने गरिएको उनले बताए ।

उनले भने, ‘होली असत्यमाथि सत्यको जितको प्रतिकको रुपमा मनाउने गरिन्छ । त्यस्तै भगवान श्रीकृष्णको कथासँग पनि जोडिएको छ। बाँसै किन चाहियो भन्ने कुरा पनि छ । भगवान विष्णुलाई सबैभन्दा मन पर्ने बाँस नै हो । चीरको महत्व परापूर्वकालदेखि नै छ । असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत रुपमा होली शुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आएको परम्परा हो ।’
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ । २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।





