२०८३ साउन २१ गते बिहीबार

रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै

रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २९ गते बिहीबार ०९:१९

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने चलन छ ।

पोखरा ।

आज फागुपुर्णिमा अर्थात् फागुपर्व, रंगहरुको पर्व होली आज पोखरासहित देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रंग र लोला खेली मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने चलन छ ।

हिरण्यकश्यपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसंग पुराणहरुमा उल्लेख छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात चीरदाह गरेर आपसमा रंग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ ।

होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरी, जाँडरक्सी तथा लागूपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध छ ।

यस्तै होली मनाउँदा आफ्नो स्वास्थ्य, सम्भावित दुर्घटना र सामाजिक मर्यादाबारे पनि ख्याल गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

फागुपर्वका अवसरमा सरकारले पहाडी जिल्लाहरूमा सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति २०८१ फागुन २९ गते बिहीबार ०९:१९
हजुरको प्रतिक्रिया