२०८३ कात्तिक ११ गते मंगलबार

जोमसोम प्रादेशिक अस्पतालमा शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा सूचारु

जोमसोम प्रादेशिक अस्पतालमा शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा सूचारु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २९ गते बिहीबार ०९:४२

गण्डकी प्रदेश सरकार मातहतको यस अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापन गरेर शल्यक्रिया सेवा सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, पर्यटक र तिर्थयात्रीहरुलाई सुविधा पुगेको छ ।

जोमसोम ।

मुस्ताङको जोमसोममा रहेको प्रादेशिक अस्पतालमा शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा सूचारु भएको छ ।

१९ महिनापछि बुधबार शल्यक्रिया मार्फत सुरक्षित प्रसुति सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार २३ वर्षीया गर्भवतिको शल्यक्रिया गरि दुई किलोग्राम पाँच सय ग्राम तौल भएको बच्चा जन्मिएको छ । २४ घण्टा देखि प्रसुति बेथाले छटपटिएकी गर्भवतिको पेटमा रहेको बच्चाको मुटुको धडकन गडबड देखिएकाले शल्यक्रिया गरिएको हो ।

आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका चिकित्सिक विशाल सापकोटाले बताए ।

सापकोटाको नेतृत्वमा जोमसोम प्रादेशिक अस्पतालका चिकित्सकहरु तेजस नेपाली, बिर्सजन नेपाली, मनिष कोइराला, अशोक चापागाई, स्वास्थ्यकर्मीहरु बिशाखा पण्डीत, कुशल नेपाली, सुधा पौडेल, दिब्या जिसी, शनिलाल बागदासको टोलीले शल्यक्रिया गरेको हो ।

उनीहरुलाई प्रादेशिक अस्पताल कुश्माका मेडिकल सुपरीन्टेन्डेन हेमन्त बास्तोलाले सघाएका थिए ।

गण्डकी प्रदेश सरकार मातहतको यस अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापन गरेर शल्यक्रिया सेवा सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, पर्यटक र तिर्थयात्रीहरुलाई सुविधा पुगेको छ ।

अस्पतालले हाइड्रोसिल, हर्निया र एपेन्डीसको पनि शल्यक्रिया सेवा सञ्चालन गरेको डा. सापकोटाले जानकारी दिए ।

प्रसुती सेवा सञ्चालनका लागि तालिमप्राप्त स्टाफनर्सको अभाव भएको छ । निर्माणाधिन भवन पुरा नहुँदा सेवा प्रवाहमा चुनौति छ ।

भिडियो एक्सरे सेवा पनि सूचारु भएको अस्पतालमा चार वटा सोल्जर डिस लोकेशन (पाखुरामा फुस्केको गेडी ठिक ठाउँमा ल्याएर राख्ने) सेवा पनि गरिएको डा. सापकोटाले बताए ।

अस्पतालमा कार्यरत चिकित्सकहरुलाई प्रोत्साहन भत्ताका लागि मुस्ताङका पाँच वटा स्थानीय तहहरुले मासिक रु. २० हजारका दरले उपलब्ध गराउने निर्णय कार्यान्वयन नभएको चिकित्सकहरुले गुनासो गरेका छन् ।

दरबन्दि अनुसारका चिकित्सक, स्वास्थ्यकर्मी, पूर्वाधार र उपकरणको कमीका बावजुद पनि पछिल्लो समय जोमसोम अस्पतालले सञ्चालन गरेको सेवालाई निरन्तरता दिनका लागि पहल गरिएको मुस्ताङ १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले बताए ।

प्रदेश सरकारसँग समन्वय गरेर चिकित्सकको ब्यवस्थापन गरिएको जानकारी दिदै उनले अस्पतालको निर्माणाधिन भवनलाई पूर्णता दिन, मुख्य सडक देखि अस्पताल पुग्ने सडकको पहुँचमार्गको समाधान गर्न, थप उपकरणको ब्यवस्था गर्न पहल गरिएको जानकारी दिए ।

प्रकाशित मिति २०८१ फागुन २९ गते बिहीबार ०९:४२
हजुरको प्रतिक्रिया