पोखरा ।
चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ ।
चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रका निर्देशक तथा लेखक ऋषिराज आचार्य का अनुसार चलचित्रले मौलिक कथा प्रस्तुत गर्नेछ । डोल्पाका सुन्दर भू–दृश्यहरू समेट्दै छायांकन गरिएको यो फिल्म महिला सशक्तीकरणको कथामा केन्द्रित रहेको बताइएको छ ।
चलचित्रका कलाकार तथा गायक रवि ओड ले ‘द्रौपदी’ प्रति ठूलो अपेक्षा रहेको बताए । चलचित्रका गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको सुनाए । दर्शकहरूको साथ र माया आवश्यक रहेको उनको भनाइ छ । चलचित्रका निर्माता तथा कलाकार प्रकाश ज्ञवाली ले कन्टेन्टले आफूलाई तानेको बताए । अस्पताल व्यवसायमा संलग्न भए पनि राम्रो कथाले आफूलाई यो फिल्म निर्माणमा संलग्न गराएको बताए ।
नायिका आश्विनी शाही ले ‘द्रौपदी’ एउटा सशक्त कथावस्तु बोकेको चलचित्र भएको बताइन्। उनले अनुहार हेरेर चलचित्र नहेर्न, बरु कन्टेन्टलाई प्राथमिकता दिन दर्शकलाई अनुरोध गरेकी छिन् । ‘द्रौपदी’ को हिरो नै कन्टेन्ट भएको भनाई उनको छ ।
चलचित्रकी अर्की नायिका सुजाता तिमल्सिनाले विकट भेगको कथा दर्शकसामु ल्याउन पाउँदा खुशी लागेको बताइन् । बलियो कथामा आधारित सिनेमामा आफु बाँधिन पाउँदा उनी हर्षित छिन् । निर्देशक आचार्यले विभिन्न स्थानबाट दर्शकहरू चलचित्र हेर्न उत्साहित रहेको बताए । दर्शकहरूको माया र समर्थनले चलचित्रले उत्कृष्ट व्यापार गर्नेमा आफूहरू विश्वस्त रहेको टिमले जनाएको छ ।
करिब २ करोड लगानीमा चलचित्र निर्माण भएको निमार्ण पक्षले जनाएको छ । ४८ दिन लगाएर छायाँकन गरिएको सिनेमा अन्तर्राष्ट्रिय अवार्डका लागि समेत छनोट भएको बताइएको छ । मौलिक कथालाई आत्मसात् गरिएका कारण पनि दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टीम आशावादी छ ।
प्रकाशित मिति २०८१ फागुन ३० गते शुक्रबार ०७:२४




