पोखरा ।
राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २०औं संस्करणको उपाधि एपिएफले जितेको छ ।
आईतबार सम्पन्न फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २८–२२ अंकले हराउँदै उपाधि जितेको हो । निकै रोमाञ्चक भएको फाइनलमा आर्मीले खेल सकिन केही समय मात्र बाँकी छँदा अग्रता लिएको थियो ।
आर्मीले २०–१७ अंकले अग्रता लिए पनि जोगाउन नसक्दा नतिजा सुम्पिन पुगेको हो । एपिएफले आर्मीकी रेडर गंगा घिमिरेलाई रोक्दै खेलमा फर्किने प्रयास गरेको थियो र सफल पनि भयो ।
उनलाई उत्कृष्ट ट्याकल गर्दै एपिएफले २०–२० को बराबरी ग¥यो । यहाँबाट एपिएफले अग्रता लिँदै आर्मीमाथि पूर्ण दबाब पनि बनायो । यो अग्रता कायम राख्दै आर्मी जित निकाल्न सफल भयो ।
त्यसअघि आइतबार नै भएको दोस्रो सेमिफाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३३–२८ अंकले हराउँदै उपाधि भिडन्त तय गरेको हो ।
आर्मीले भने सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ४२–१८ अंकले सहजै हराउँदै फाइनलमा स्थान बनाएको हो ।
प्रतियोगिताको विजेता एपिएफले दुई लाख, आर्मीले एक लाख र सेमिफाइनलमा पराजित भएका पुलिस र सुदूरपश्चिम प्रदेशले समान ५० हजार रुपैयाँ पाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघका पदाधिकारीले पुरस्कृत गरेका थिए ।
यस प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशले प्रतिस्पर्धा गरेका थिए । यस प्रतियोगिताबाट जुनमा हुने विश्वकपका लागि खेलाडी छनोट गरिने भएको छ ।
प्रतियोगिताको उत्कृष्ट रेडर पुलिसकी मानमती बिष्ट र उत्कृष्ट डिफेन्डर एपिएफकी जयन्ती बडू भइन् ।
प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार ०९:५०




