पोखराको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन गराउनुपर्ने माग राख्दै नेविसंघले आज प्रदर्शन गरेको छ ।
उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग राख्दै क्याम्पसको गेट अगाडि नाराबाजी गरेका हुन् ।

पृथ्वीनारायण क्याम्पसमा विवादका कारण मतदान हुन सकेको छैन । अखिल छैठौैका उम्मेदवारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोस्टक छुटेपछि मतदान रोकिएको हो ।
अखिल (छैठौै) का क्याम्पस अध्यक्ष सोमनाथ अधिकारीले विज्ञप्ति जारी गरी सबै संगठनको सर्वदलीय बैठक नभईकन निर्वाचन अगाडि बढाएमा त्यसबाट हुने सम्भावित दुर्घटनाको जिम्मेवारी निर्वाचन आयोग नै हुने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ , ‘यस देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा विगत लामो समय देखि करिब १६ वर्ष पछि हुन लागेको स्ववियु निर्वाचनमा हाम्रो सक्रिय संगठन उत्साहजनक रुपमा लागेको र उमेदवारी समेत दर्ता गरेको तर निर्वाचन आयोगका अध्यक्षको उमेदवारलाई निर्वाचन समितिको बैठकमा नै दलित समुदायलाई आँच पुग्ने अभिव्यक्ति दिएको र अहिले मतपत्रमा उक्त अध्यक्षको उमेद्वारलाई भोट गर्ने कोस्ट नराखिकन मतपत्र छापेकोले गर्दा हाम्रो संगठनको ध्यान आकर्षण भएको छ ।’

यसैगरी अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार कमल सुवेदीले पनि विज्ञप्ति जारी गरी क्याम्पस प्रसाशनलाई यथाशीघ्र स्वच्छ, निश्पक्ष, शान्तिपूर्ण र भयरहित वातवरणमा तुरुन्त निर्वाचन गर्न अपिल गरेका छन् ।
बिहान ८ बजेबाट हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन क्याम्पस प्रसाशनको लापरवाहीको कारण हुन नसकेको उनले आरोप लगाएका छन् ।

प्रकाशित मिति २०८१ चैत ४ गते मंगलबार ०१:३५




