म्याग्दी ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागको आयोजनामा म्याग्दीमा सञ्चालित घुम्ती शिविरबाट पत्रकार लाभान्वित भएका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहकार्यमा बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालित तीन दिनको तालिम तथा घुम्ती शिविरबाट मोफसलका पत्रकारहरु लाभान्वित भएका हुन् ।
दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता सम्बन्धी घुम्ती शिविरमा विभिन्न १६ जना पत्रकारहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्नुका साथै तीनवटा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता गरिएको पत्रकार महासंघ म्याग्दीले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन भएको तालिम र घुम्ती शिविरबाट म्याग्दीसहित विभिन्न जिल्लाका पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र जारी, अनलाइन दर्ता र नवीकरण गरिएको शाखा अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिएका हुन् ।
घुम्ती शिविरमा म्याग्दीसहित पर्वत र बागलुङ जिल्लामा क्रियाशील पत्रकारहरुले सेवा लिएका थिए ।
तीन दिनसम्म सञ्चालित कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले तालिमबाट पत्रकारहरुको क्षमता वृद्धिमा सहयोग पुग्ने बताए ।
सूचना विभागद्वारा सञ्चालित तालिम तथा घुम्ती शिविर सञ्चालनमा पत्रकार महासंघ म्याग्दी शाखाले महत्वपूर्ण सहयोग पु¥याएकोमा आभार प्रकट गर्दै तालिमबाट सिकेका ज्ञान, सिपलाई कार्य क्षेत्रमा लागू गर्न सुझाव दिए ।
पत्रकार तथा सञ्चारकर्मीले आफ्नो क्षमता वृद्धि गरेर जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए ।
प्रमुख प्रशिक्षक एवं विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्रले पत्रकारितासँग सम्बन्धित विभिन्न विषयहरुमा पत्रकारहरुलाई सहजीकरण गरे ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालको पत्रपत्रिका सम्परिक्षण वितरण समितिका सदस्य एवं पर्वतका उद्यमी हरिओम शर्मा लामिछानेले पनि आफ्ना धारणा राखेका थिए ।
दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको पेशागत क्षमता वृद्धि र जिल्लामा प्रेस पास वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ताका लागि शिविर सञ्चालन गरिएको थियो ।
कार्यक्रममा सूचना तथा प्रसारण विभागका निर्देशक पूर्णिमा उपाध्याय, जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको विशेष उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार ११:४८




