अन्तिम तयारी गर्दै एनएसएलका फ्रेन्चाइज टोली
पोखरा ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोलीले आफ्नो तयारीलाई तिब्रता दिएका छन् ।
आगामी शनिबारदेखि एनएसएलको तेस्रो संस्करणका खेल दशरथ रंगशालामा शुरु हुने तय छ ।
एनएसएलको आयोजक नेपाल स्पोटर््स एण्ड इभेन्ट म्यानेजमेण्ट कम्पनीले सदाझैं तेस्रो संस्करणमा भने तामझाजसहित सक्रियता देखाएको छैन । तर फ्रेन्चाइज क्लवले भने आफ्नो तयारीलाई तिब्रता दिइरहेको छन् ।
मंगलबार काठमाडौंमा दुई फरक कार्यक्रममार्फत् काठमाडौं रेजर्स र पोखरा थन्डर्सले आफ्नो जर्सी सार्वजनिक गरेका थिए ।

काठमाडौं रेजर्स पहिलो संस्करणको विजेता हो । काठमाडौंले धनगढी एफसीलाई हराउँदै पहिलो उपाधि जितेको थियो ।
दोस्रो संस्करणमा पनि काठमाडौं प्लेअफमा पुगेको थियो । तर काठमाडौं इलिमिनेटरबाट अगाडि बढ्न भने सकेन । सोही टोलीले तेस्रो संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारी गरेको छ ।
काठमाडौंले मंगलबार सेतो र रातो रङको दुई वटा जर्सी सार्वजनिक गरेको छ ।

तेस्रो संस्करणका लागि काठमाडौंले रोहन कार्कीलाई मार्की खेलाडी बनाएको छ ।
यस संस्करणमा काठमाडौं रेजर्सले नै उद्घाटन खेलमै साबिक विजेता ललितपुर सिटी एफसीको सामना गर्नेछ ।
मंगलबार पोखरा थन्डर्सले पनि तीन वटा रंग ओरेन्ज, ब्ल्यु र प्याजीको जर्सी सार्वजनिक गरेको छ ।

पोखराका सिनियर खेलाडी नवयुग श्रेष्ठ, समीर तामाङले जर्सी सार्वजनिक गरेका हुन् ।
सोही कार्यक्रममा पोखराले ब्रान्ड एम्बेसडरमा गायक छेवाङ लामालाई घोषणा गरेको थियो । यस सिजन पोखराको मार्की खेलाडी समीर तामाङ हुन् ।
पोखराले पहिलो खेलमा चैत १८ गते एफसी चितवनसँग खेल्दै छ । पोखराले नाइजेरियाका मिकाइल चुकयुबुना र क्यामरुनका स्टेफन बिनोइङलाई अनुवन्ध गरिसकेको छ ।
यस संस्करणको एनएसलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दैछन् । यस संस्करणको एनएसएल आगामी वैशाख १३ गतेसम्म हुँदैछ ।
प्रकाशित मिति २०८१ चैत १२ गते बुधबार ०९:०९




