काठमाडौं ।
हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हालेका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयसँगै मंगलबार साँझ शाक्यले कार्यकारी निर्देशकको कार्यभार सम्हालेका हुन् ।
कार्यभार सम्हाल्दै उनले सरकारले पुनः नियुक्ति गरेसँगै आफूले न्याय पाएको महशुस भएको बताए । आफ्नो अनुभव र दक्षतालाई अब पुनः शुरु गर्ने उनको भनाइ छ ।
उनले विद्युतको क्षेत्रमा अहिले केही ठूला चुनौतिहरु रहेको भन्दै बाहिर सबै ठिक रहेको देखिएपनि भित्र धेरै समस्या रहेको बताए ।
यसलाई सबै मिलेर समूहको रुपमा समाधान गर्नेमा उनले जोड दिए । व्यक्ति भन्दा पनि संस्थालाई प्राथमिकता दिएर समाधान गर्ने जिकिर उनले गरेका छन् ।
लोडसेडिङको कुरा हल्ला मात्रै भएको र हुन नदिने प्रतिवद्धता पनि उनले व्यक्त गरे । उद्योगधन्दामा भइरहेको लोडसेडिङ कम गर्ने पनि उनको भनाइ छ ।
प्रक्रियागत कुराबाट डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक रुपबाट गर्ने र निष्पक्षताका साथ काम गर्ने प्रतिवद्धता उनले जाहेर गरेका छन् ।
प्रकाशित मिति २०८१ चैत १२ गते बुधबार ०९:११




